
अफगानिस्तानका तालिबानी नेता सिराजुद्दीन हक्कानीले छात्राहरूलाई विद्यालय जान दिने वाचा दोहोर्याएका छन् ।
कायममुकायम गृहमन्त्री हक्कानीले सीएनएनकी क्रिस्चिएन अमनपुरसँग कुराकानी गर्दै महिलालाई काममा जान दिने विषयमा इस्लामिक कानूनको तालिबानी व्याख्या लागू हुने बताए ।
तालिबान शासन शुरू भएपछि महिलाहरू घरबाट निस्कन डराएको विषयमा सोध्यदा उनले हाँस्दै भने, ‘हामी बदमास महिलालाई घरैमा राख्छौं ।’
यस विषयमा स्पष्ट पार्न भन्दा हक्कानीले बताए, ‘अन्य पक्षको नियन्त्रणमा रहेका बदमास महिला भन्न खोजेको हुँ । उनीहरू बहालवाला सरकारलाई प्रश्नको घेरामा राख्न चाहन्छन् । महिलाहरूलाई एउटा निश्चित घेराभित्र रहेर काम गर्न दिइनेछ ।’
हक्कानीले वर्षौंपछि मिडियालाई मुख देखाएर अन्तर्वार्ता दिएका हुन् । उनी प्रायः गोप्य नै रहन मन पराउँछन् । उनीवरुद्ध १ करोड रुपैयाँको इनाम छ ।
छात्राहरूको विद्यालय जान पाउने अधिकारका विषयमा टिप्पणी गर्दै उनले अफगान सरकारमा महिला शिक्षाको विरोध कसैले पनि नगर्ने बताए ।
‘अहिले पनि कक्षा ६ सम्मका छात्राहरूलाई विद्यालय जान दिइएको छ,’ उनले भने, ‘त्यसभन्दा माथिका कक्षाका छात्राको विषयमा कुराकानी भइरहेको छ । यस विषयमा तपाईंले छिट्टै सुखद समाचार पाउनुहुनेछ ।’
अमेरिका तथा विश्वसँगको सम्बन्धमा नयाँ अध्याय थप्नका लागि यो अन्तर्वार्ता दिएको हक्कानीका सहयोगीहरूले बताएका छन् ।