
स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ ।
निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्युबमा म्युजिक भिडियोहरू सार्वजनिक भएका थिएनन् ।
दर्शकहरूको ध्यान निर्वाचन र मतपरिणाममै केन्द्रित हुने हुँदा सम्बन्धित कलाकारहरूले भिडियो सार्वजनिक गरेनन् ।
तयार म्युजिक भिडियोहरू पनि यो अवधिमा सार्वजनिक भएनन् । यता गीत रेकर्डिङ र भिडियो छायांकनका गतिविधिहरू पनि ठप्पप्रायः थिए ।
धेरै स्थानको अन्तिम मतपरिणाम आएसँगै सांगीतिक माहोल पनि पुरानै अवस्थामा फर्किन थालेको छ । तीन/चार दिनयता युट्युबमा म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका छन् ।
राजेश पायल राई, प्रमोद खरेल, रामजी खाँड, अस्मिता अधिकारी, टीका प्रसाईँलगायतको स्वर रहेका तथा केकी अधिकारी, मलिका महत, राहुल शाहलगायतको अभिनय रहेका गीतका भिडियोहरू निर्वाचनयता युट्युबमा आइसकेका छन् ।
अहिले रेकर्डिङका गतिविधिहरू समेत पहिलेकै अवस्थामा फर्किएको गायक–गायिकाहरू बताउँछन् । रुचाइएका मोडल पुष्प खड्काले म्युजिक भिडियो छायांकनको काम शुरू भइसकेको बताए ।
‘निर्वाचनले १०/१२ दिन छायांकनको काम ठप्प नै रह्यो । तीन/चार दिनअघिदेखि भने काम शुरू भएका छन्,’ उनले लोकान्तरसँग भने, ‘मैले निर्वाचनयता २ वटा भिडियोको छायांकन सकिसकेँ । अब पनि निरन्तर छायांकनको सेडयूल तय छ ।’
केही निर्वाचनले रोकिएका त केही नयाँ गीतहरू छायांकनको क्रममा रहेको उनले बताए ।
निर्देशक काजिश श्रेष्ठ पनि निर्वाचनको माहोल विस्तारै सेलाउँदै गएसँगै सांगीतिक माहोल फेरि चलायमान भएको बताउँछन् । उनका निर्वाचनअघि नै तयार केही म्युजिक भिडियो सार्वजनिक हुने क्रममा छन् ।
‘तयार भएका गीतहरू पनि निर्वाचनको समयमा सार्वजनिक गरिएन । निर्वाचनअघि निर्देशन गरेका आधा दर्जन बढी भिडियोहरू सार्वजनिकका लागि तयार छन् । ती अब क्रमशः सार्वजनिक हुनेछन्,’ निर्देशक श्रेष्ठले भने, ‘मंगलवारदेखि छायांकन पनि शुरू गर्छु । क्रमशः बिहीवार, शनिवार पनि छायांकन तय भइसकेको छ ।’
गीतकार नेत्र अर्यालले निर्वाचनअघि तयार आफ्नो गीत ‘फोटो मायाको’ गत शनिवारमात्रै सार्वजनिक गरे । निर्वाचनको माहोललाई हेरेर आफ्नो गीत दुई साता ढिलो गरी सार्वजनिक गरेको उनले बताए ।
निर्देशक काजिशका अनुसार अन्य कलाकारहरूले पनि तयार भएका म्युजिक भिडियोहरू निर्वाचनको केही दिन अघिपछि सार्वजनिक गरेनन् । त्यसका कारण निर्वाचनअघि तयार भएका थुप्रै भिडियोहरू सार्वजनिक हुने क्रममा छन् । अहिले सार्वजनिक भइरहेको अधिकांश म्युजिक भिडियोहरू पनि निर्वाचनअघि नै तयार भएको काजिशले बताए ।
‘अब निर्वाचनअघि तयार भिडियोहरू भटाभट सार्वजनिक हुन्छन,’ उनी भन्छन्, ‘गत शुक्रवार पनि केही भिडियोहरु आए । यो शुक्रवार टन्नै भिडियोहरू आउँछन् होला ।’
म्युजिक भिडियोहरू अन्य दिनको तुलनामा शुक्रवार बढी मात्रामा सार्वजनिक हुने गरेका छन् । निर्वाचनको समयमा दर्शकको ध्यान त्यसमै केन्द्रित हुने हुँदा भ्युज राम्रो जाँदैन भनेर भिडियो सार्वजनिक मितिलाई पछाडि धकेले पनि अहिले सार्वजनिक अधिकांश भिडियोले अपेक्षित भ्युज भने पाउन सकेका छैनन् ।