०९ साउन २०८३, शनिबार

कसम खाँदै मनोज पाण्डेको अस्वीकारी बयान– 'पुष्टि भए झुन्डिन तयार छु'

जेठ १२, २०७९
कसम खाँदै मनोज पाण्डेको अस्वीकारी बयान– 'पुष्टि भए झुन्डिन तयार छु'

सुन्दरी प्रतियोगिताको आडमा महिलामाथि यौन दुर्व्यवहार गर्ने मनोज पाण्डेसँग सरकारी वकिलको कार्यालयले बयान लिएको छ । 

बुधवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरूले बयान लिएका हुन् । बलात्कारको अभियोग लागेका मनोज पाण्डेले आफूले बलात्कार नगरेको भन्दै अस्वीकारी बयान दिएका छन् । 

स्रोतका अनुसार पाण्डेले कसम खाँदै ‘मैले गरेको हैन’ भन्ने बयान दिएका छन् । प्रहरीले पक्राउ गरेपछिको प्रारम्भिक बयानमा यदि ‘आफूले बलात्कार गरेको भए झुन्डिएर मर्छु’ भनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

अहिले प्रहरीले उनीविरुद्ध प्रमाणहरू जुटाइरहेको छ । 

पीडित युवतीले आफूमाथि अत्याचार भएको भन्दै कल गरेकी पूर्व मिस नेपाल माल्भिका सुब्बासँग पनि प्रहरीले बयान लिएको थियो ।

बयानमा माल्भिकाले पीडित युवतीले फोन गरेको स्वीकारेकी छिन् । उनले त्यो समयमा आफू पनि समस्यामा भएका कारण ध्यान पुग्न नसकेको कुरा प्रहरीलाई बताएकी छन् ।

यसले प्रहरीलाई परिस्थितिजन्य प्रमाण जुटाउनलाई सहयोग पुगेको छ । प्रहरी प्रमाण जुटाउने क्रममा त्यो समयका फोटोहरू पनि संकलन गरिरहेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रहरीले बलात्कार अभियोगमा हदम्यादका कारण उनलाई पक्राउ गर्न नमिल्ने भएपछि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानबिन गर्न दबाब बढेको थियो । 

यस विषयमा बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयअगाडि अधिकारकर्मीहरूले आन्दोलन गरेका थिए ।

संसद्मा समेत बलात्कारको विषयमा आवाज उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा सरकारलाई रुलिङ गरेका थिए । 

त्यसपछि सरकारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरसहित ५ जनाको समिति बनाएको थियो । 

त्यो टोलीले पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीको परामर्शमा पीडित युवतीलाई जिल्ला अदालतमा निवेदन दिन लगाएर बयान प्रमाणित गरिएको थियो ।

आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै १६ वर्ष कम उमेरकी एकजना बालिकाले पाण्डेविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

अहिले सरकारले बलात्कार मुद्दामा १ वर्षको हद म्यादलाई पुनर्विचार गर्न विभिन्न संसदीय समिति र कानून विज्ञहरूसँग परामर्श गरिरहेको छ ।

यो केसबाहिर आएपछि काठमाडौं उपत्यकालगायत देशभरमा बलात्कारका घटनाहरू बाहिर आउन थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्