
गृहमन्त्री बालकृष्ण खाँणको गृहवडा तिलोत्तमा–८ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार कृष्ण प्रसाद पौडेलले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केशवराज अर्याल (विष्णु) लाई १८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १ हजार ६१५ मत ल्याउँदा अर्यालले १ हजार ४२६ मत मात्र ल्याउन सके ।
यस अगाडिको निर्वाचनमा पनि यो वडामा एमालेकै अर्याल विजयी भएका थिए । त्यो बेला कांग्रेसबाट नगर सभापति हरिलाल पाण्डे उम्मेदवार थिए । अर्याल त्यो बेला ५०७ मतले पराजित भएका थिए ।
सो वडामा एमालेका उम्मेदवारहरू महिला सदस्यमा कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुम बहादुर खासु विजयी भए ।
अब वडा नम्बर ७ र ९ को अन्तिम परिणाम आउन बाँकी छ । मतगणना अन्तिम चरणमा पुग्दा कांग्रेसका रामकृष्ण खाँण एमालेका मोहना चापागाईभन्दा ८०० मत अन्तरले अगाडि छन् । रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।