
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ ।
१५ मिनेटका लागि भन्दै बिहान साढे ११ बजे स्थगित भएको बैठक दिउँसो साढे १ बजेसम्म शुरू हुन सकेको छैन ।
बैठक शुरू गर्न कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूबीच अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा छलफल भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार प्रतिनिधि सभामा गरेको सम्बोधनका कतिपय कुरालाई मन्त्री बडुले स्तरहीन, रोदन र कुण्ठा भनेपछि एमालेले संसदमा आपत्ति जनाएको थियो ।
कमिसनको लोभमा नेपाल आयल निगमलाई निजीकरण गर्न लागिएको भन्ने ओलीको आरोप राजनीतिक पूर्वाग्रह प्रेरित र स्तरहीन भएको मन्त्री बडुले टिप्पणी गरेका थिए ।
ओलीमाथि लगाइएको आरोप र असंसदीय शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधि सभामा उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।
गतवर्षको भदौ २३ देखि एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।
जेठ ३ गतेदेखि प्रतिनिधि सभामा एमालेले अवरोध हटाएको थियो ।