
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।
आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छ्रैन ।
नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन पुगेको हो ।
५२ किलोमिटर लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्ने हुन्छ ।
आयोजनाका प्रमुख रविकुमार चौधरीले रुख कटान सम्बन्धी निर्णय नहुँदा निर्धारित समयमै आयोजना नबन्ने देखिएको बताए ।
‘वनजंगल नभएको ठाउँमा प्रसारण लाइनको काम भइरहेको छ, निजी जग्गाको मुआब्जा वितरण प्रक्रिया पनि शुरू भइसकेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट रुख कटानको निर्णय नहुँदा आयोजना कम्तीमा १ वर्ष धकेलियो ।’
आयोजनाको निर्माण अवधि आगामी भदौमा सकिँदैछ । ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले आयोजना निर्माणको जिम्मेवारी पाएको छ ।
आयोजनाले डबल सर्किटका १७० टावर निर्माण गर्ने प्रस्ताव छ । टावरको उचाइ ११५ मिटरदेखि १६० मिटरसम्म रहेको छ । आयोजनाका अनुसार प्रसारण लाइनको अधिकांश क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्छ ।
प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ ।
प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरेर कूल २२५ वर्ग किलोमिटर जमिन समेटिने छ ।
कोहलपुरबाट शुरू भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुँदबँुदेस्थित सवस्टेसनमा पुगेर टुंगिनेछ । १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार नहुँदा कर्णालीवासीले विद्युत् सेवामा सास्ती भोग्दै आएका छन् ।