
सरकारले सञ्चालन गरेका विभिन्न क्षेत्रका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा सञ्चालित भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा जम्मा २२ वटा संस्थान मात्रै नाफामा रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक संस्थानहरू पछिल्लो प्रतिवदेन अनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आव २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । यस्तो लाभांश २०७६÷७७ मा १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष सरकारले पाएको लाभांश ५२.३३ प्रतिशतले घटेको देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १.५१ प्रतिशतले वृद्धि भएको छ । उक्त नाफा ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आवमा ग्राहस्थ उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत छ । उक्त आवमा सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर प्राप्त भएको छ ।
गत वर्ष संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६.४९ प्रतिशत थियो । आव २०७६/७७ मा यस्तो योगदान ८.८२ प्रतिशत भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।