
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान घोडेपानी क्रस गरेपछि सम्पर्कविहीन भएको थियो ।
विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए ।
जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट परिचालन भएको छ ।
काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए ।
सम्पर्कविहीन भएको जहाजमा चालक दलसहित १६ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार थिए ।