
पश्चिम नवलपरासीको परासीस्थित कारागारबाट १२ जना कैदीहरू मुक्त भएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशभरबाट कैद सजाय माफी मिनाहा पाएका ८१८ कैदीहरूमध्ये जिल्लामा कारागारमा रहेका उनीहरू कारागारमुक्त भएका हुन् ।
सवारी ज्यानका ५, बहुविवाह ४, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यानका १ र गर्भपतन मुद्दाका १ जनाले कैद सजाय मिनाहा पाएको कारागार कार्यालयका जेलर जगतबहादुर बस्नेतले जानकारी दिए । मिनाहा पाउनेमा ४० प्रतिशत कैद भुक्तान गरेका १ र ५० प्रतिशत कैद भुक्तान गरेका ११ जना रहेको उनले जानकारी दिए ।
सवारी ज्यानमा कैद माफी पाउनेमा पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–५ का सन्तबहादुर महतो, गोरखा आरुघाट–५ का सुमन गुरुङ, रुपन्देही ओमसतिया–६ का पुण्टे तेली, पूर्वी नवलपरासी हुप्सेकाट– १ का शिवबहादुर परियार र रुपन्देही बुटवल–४ का सुनिल गुरुङ छन् ।
त्यस्तै बहुविवाह मुद्दामा मिनाहा पाउनेमा नवलपरासी सरावल–७ का गुल्सन कुमार हरिजन, रुपन्देही गैडहवा–८ का जुना क्षेत्री, नवलपरासी प्रतापपुर–७ का गणेशप्रसाद चौधरी, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१ का विष्णुबहादुर विक छन् ।
त्यस्तै कर्तव्य ज्यानमा पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१० का टीकाप्रसाद रसाइली र ज्यान मार्ने उद्योगमा नवलपरासी रामग्राम नगरपालिका–१६ का सुग्रिम कोहार प्रजापतिले कैद सजाय मिनाहा पाएका छन् । गर्भपतन मुद्दामा कपिलवस्तु वाणगंगा–६ की ३२ वर्षीया महिलाले पनि कैद सजाय मिनाहा पाएकी छन् ।
१५० पुरुष र २५ महिला गरी कुल १७५ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ५३१ जना छन् । जसमा ४३१ पुरुष, ७६ जना महिला र ३ जना आश्रित बालबालिका रहेको कारागार कार्यालयले जनाएको छ ।