०२ असार २०८३, मंगलबार

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइँदै

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइँदै
फाइल फोटो

प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतवार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौं ल्याइँदैछ ।

त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव काठमाडौं ल्याइँदैछ ।

प्रतिकूल मौसमका कारण अर्का १ जनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले पोखराबाट काठमाडौंका लागि उडेको छ । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेको छ । 

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि पोखरा ल्याइने उद्धार टोलीले जनाएको छ ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमवार बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले जानकारी दिए ।

पोखराबाट आइतवार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । जहाजमा चालक दलका ३ जना सदस्य, १२ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्