१० साउन २०८३, आइतबार

चन्द्रागिरी–चितवन द्रूतमार्गको प्रारम्भिक अध्ययन भएरै बजेट राखिएको अर्थमन्त्रीको भनाइ

चन्द्रागिरी–चितवन द्रूतमार्गको प्रारम्भिक अध्ययन भएरै बजेट राखिएको अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री जनार्दन शर्माले चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रूतमार्गको प्रारम्भिक अध्ययन भएरै बजेट राखिएको बताएका छन् ।

सोमवार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक २०७९/८० को बजेटपछिको कार्यक्रममा शर्माले द्रूतमार्गको आवश्यक अध्ययन भइसकेको बताए । यो द्रूतमार्ग निर्माण गर्न सकिने र सहजै कार्यान्वयन हुने आयोजना भएको उनले बताएका छन् ।

पहिलो चरणमा चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रूतमार्ग निर्माण गर्दै दोस्रो चरणको अध्ययन लगानी बोर्डले शुरू गर्ने उनले बताए । 

दोस्रो चरणमा चितवन–रामपुर–बुटवल, चितवन–रामपुर पोखरासम्मको दू्रतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्ने लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने योजना अर्थमन्त्री शर्माले आगामी आवको बजेट वक्तव्यमार्फत उल्लेख गरेका छन् ।

कार्यक्रममा अर्थमन्त्री शर्माले आगामी वर्ष उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्रवद्र्धन गरेर आयात कम गर्दै जाने नीति लिएको पनि बताए । उनले भने, ‘कति बाहिरबाट ल्याएर खाने ? लौका घिरौलासम्म त नेपालमै उत्पादन हुनुपर्ने र यहीको खानुपर्छ ।’ 

हरेक परिवारले गमलामा रोपेरै आफूलाई पुग्ने खुर्सानी फलाउन सक्ने तथा साग उत्पादनमा जोड दिनुपर्ने पनि शर्माले बताए । 

कृषि उत्पादन बढाउनकै लागि यसअघि जम्मा १५ वर्षलाई मात्रै दिने गरिएको उद्योग खोल्ने जग्गा भाडालाई अब ५० वर्षलाई दिइने भएको छ । यसले उद्योगीको मनोबल बढ्ने र उत्पादन बढाउन केन्द्रित हुने बुझाइ पनि शर्माको छ । 

अर्थ मन्त्रालयले बजेटको बुँदा नम्बर ७२ संशोधन गरेको छ । आगामी आर्थिक वर्षको बजेटको ७२ नम्बर बुँदामा वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । यो व्यवस्था बजेट वक्तव्यमा मासिक हुन गएकाले संशोधन गरिएकाे पनि अर्थमन्त्री शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले चालू आवमै कोभिड प्रभावित मजदुरलाई राहत स्वरूप प्रतिपरिवार १० हजार रुपैयाँ दिने व्यवस्था गरेका थिए । नगद दिने कार्यक्रम नेपालमा पहिलो अभ्यास भएकाले एकपक्षले राम्रो र अर्को पक्षले नराम्रो भनेकै कारण कार्यान्वयन पक्ष फितलो भएको पनि बताए ।

कार्यक्रम आंशिक रूपमा मात्रै लागू भएको छ भने पूर्ण कार्यान्वयन चुनावकै कारण गर्न नसकिएको स्वीकार शर्माले गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटभन्दा सबैको ध्यान मेरो गाउँको बाटोमा पर्‍यो वा परेन भन्नेमा भन्ने गरेको तर यो सोचाइ देश विकासमा हुनुपर्ने बताए । ‘बजेट गाउँको बाटो मात्रै होइन, गाउँको रोजगारी पनि हो,’ उनले भने ।

अर्थमन्त्री शर्माले हामीले आगामी आर्थिक वर्षको बजेट हामीसँग भएका स्रोतको अधिकतम प्रयोग गर्दै रोजगारी बढाउने, पूर्वाधार विकास गर्ने, आयात प्रतिस्थापन गर्ने गरी बजेट ल्याएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्