२१ असार २०८३, आइतबार

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइयो

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ काठमाडौँमा ल्याइएको हो । 

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले काठमाडौँ आइपुगेको र ती शवहरु पोस्टमार्टमका लागि अस्पतालतर्फ पठाइएको छ । 

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि सम्भवतः भोलि सोमबार पोखरा ल्याइने तर त्यहाँबाट काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए । 

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्