२० असार २०८३, शनिबार

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार जनाको मृत्यु

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करीब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले मंगलवार विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाए । जुन संख्या नेपालको जम्मा मृत्युको करीब १५ प्रतिशत हो । 

विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्यांकले देखाएको छ । 

सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको जनाइएको छ । 

‘आम जनताको सु–स्वास्थ्य सुनिश्चित गर्न, सुर्तीजन्य पदार्थ नयाँ सेवनकर्ताको दरमा कमी ल्याउन र अमलीहरुलाई लतबाट छुटाउन विभिन्न अभियान र कार्यक्रम समेत भइरहेका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुर्ती उद्योगको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौती भने यथावत् नै रहेको अवस्था छ । हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्कालगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिस्कृत रुपलाई समेट्ने गरी बृहत् तरिकाले कार्यक्रम सञ्चालन गर्न समेत आवश्यक देखिन्छ ।’ 

हरेक वर्ष आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ । ‘सुर्तीजन्य पदार्थ त्यागौं, स्वास्थ्य र वातावरण जोगाऔं’ भन्ने नाराका साथ मनाइने गरिएको छ । 

सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ सबै वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय रहेको उनले विज्ञप्तिमा जनाएका छन् । सुर्तीजन्य पदार्थले प्रत्यक्षरूपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्