
भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआएईयू) ले नेपालमा सम्पर्क कार्यालय खालेर सेवा विस्तार गरेको छ ।
नेपालको काठमाडांैमा रहेको इ–स्पट ग्रूपसँग मिलेर एनआएईयूले सेवा शुरू गरेको हो ।
सोमवार नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकूलपति प्रा.डा. उमा भारद्धाज र इ–स्पट ग्रूपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालयकी उपकूलपति भारद्धाजले नेपालमा खोलिएको शाखाले नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउने बताइन् । उनले भनिन्, ‘विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरूले यसअघि विभिन्न दुःख भोग्नुपरेको थियो तर अब नेपालमै सबै जानकारी पाइने भएपछि विद्यार्थीले दुःख र झन्झट खेप्नु पर्दैन ।’
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकूलपति प्रा.डा. प्रेम नारायण अर्यालले चाँडै नै पोखरा विश्वविद्यालयले पनि एनआएयूसँग सहकार्य गरी पठनपाठन अगाडि बढाउने बताए ।
इ–स्पट ग्रूपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले १ लाखभन्दा बढी विद्यार्थीलाई विदेशमा पढ्न पठाइसकेको जानकारी दिँदै भविष्यमा यस्तो कार्यले अझै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
