
मेलम्ची खोलाबाट काठमाडौँ ल्याइएको पानी पुनः बन्द भएको छ । वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै मंगलबारदेखि बन्द गरिएको बताइएको छ ।
निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उनको भनाइ छ ।
मेलम्चीको पानी बन्द गरिएपनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ ।
गतवर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो ।