२५ असार २०८३, बिहीबार

आधिकारिक रुट छाडेर 'बाइपास' प्रयोग गर्दा सुरक्षित ठानिएकै ठाउँबाट खस्यो बस

जेठ २२, २०७९
आधिकारिक रुट छाडेर 'बाइपास' प्रयोग गर्दा सुरक्षित ठानिएकै ठाउँबाट खस्यो बस

पूर्व र काठमाडौंबाट भैरहवा अन्तिम गन्तव्य बनाएर आउने गाडीहरू बुटवल भएर बल्ल भैरहवातर्फ जाने गर्छन् । बुटवलका यात्रुहरूलाई झारेपछि भैरहवा र लुम्बिनी जाने गाडीहरूको आधिकारिक रुट हो । 

तर, आइतबार बिहान लु २ ख ३८४१ नम्बरको यात्रुबहाक बस ‘बाइपास’ सडकको प्रयोग गर्दा दुर्घटना परेको छ । बुटवल नारायणगढ निर्माणाधीन सडकको अवस्थालाई पन्छाएर पश्चिम नवलपरासीको परासीबाट हुलाकी राजमार्ग हुँदै उक्त गाडी ‘बापइपास’ भएर भैरहवातर्फ लाग्दा दुर्घटना भएको देखिन्छ । 

भैरहवा धकधई हुँदै हुलाकी राजमार्ग नवलपरासीको भूमहीमा आएर पूर्व पश्चिम राजमार्गमा जोडिन्छ । यो सडक भारतबाट बेलहिया (सुनौली) नाका हुँदै नेपाल प्रवेश गरेर काठमाडौं र पूर्व जाने ट्रकहरूले बढी प्रयोग गर्छन् । दुर्घटना भएको गाडी पश्चिम नेपाल बस व्यवसायी प्रालिको हो । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बाटोका कारण यात्रुलाई सहजीकरणका लागि बुटवल नआई ‘बाइपास’ भएर गाडी भैरहवातर्फ लागेको बताए ।

 ‘खास पूर्वबाट बुटवल र भैरहवाका लागि छुट्ने गाडी बुटवल हुँदै भैरहवा जानुपर्ने हो’ अध्यक्ष खरेलले लोकान्तरसँग भने, ‘बाटोले गर्दा अरू गाडीहरू पनि ‘बाइपास’ गएर पहिले भैरहवामा यात्रु झारेर बुटवल फर्किएर आउने गर्छन् । यो गाडी पनि त्यही उद्देश्यसहित ‘बाइपास’ गएको देखिन्छ । यात्रुलाई सहज र राम्रो बाटो हिँडाउँछु भन्दा उल्टै दुर्घटनामा पर्‍यो ।’

जेठ २१ गते शनिबार साँझ ५ बजे जनकपुरबाट २० जना यात्रु लिएर भैरहवाका लागि छुटेको गाडीको चलानीमा उल्लेख छ । उक्त गाडी बुटवलबाट जनकपुर जाँदा ‘रिजर्भ’ गएको थियो । 

फूल एसी गाडी २० गतेका लागि भैरहवाबाट जनकपुर जानको लागि ‘क्यु’ परेको थियो । तर, जनकपुर जानका लागि १९ गते नै बूकिङ पाएपछि १९ गते नै जनकपुरतर्फ लाग्यो । २० गते एक दिन जनकपुर बसेर गाडी २१ गते साँझ ५ बजे आफ्नो ‘क्यु’ अनुसार नै २० जना यात्रु टिकट काउन्टरबाट लिएर भैरहवाका लागि प्रस्थान गरेको चलानीमा उल्लेख छ ।  

पश्चिम नेपाल बस व्यवसायी प्रालिका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपानेले दुर्घटनास्थलको अवस्था हेर्दा चालक ‘झ्याप्प’ निदाउँदा दुर्घटना हुन पुगेको हुनसक्ने आंकलन गरिएको बताए । ‘गाडी आफ्नो लेनबाट नभई अर्को लेनमा पुगेर पुलबाट खसेको छ,’ न्यौपानेले लोकान्तरसँग भने, ‘सडकको अवस्थाका कारण बाइपास हुँदै गाएको गाडी सजिलो बाटोमा दुःखद् घटना हुन पुग्यो ।’ 

गाडी चालक ३६ वर्षका सुमन अर्जेल क्षेत्री घाइते छन् । उनको अवस्था सामान्य छ । उनी अनुभवी चालक थिए । न्यौपानेले थपे, ‘यात्रुलाई छिटो र सजिलो बाटो प्रयोग गरेर गन्तव्यमा राम्रोसँग पुर्‍याउँछु भन्दा दुर्घटना भयो ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले लामो दुरीका गाडीहरूका लागि बाइपास सडक आधिकारिक रुट नभएको बताए । 

‘लोकल गाडीहरू, भैरहवा परासी रुटको गाडीहरू र मालबहाक गाडीहरू यो सडक प्रयोग गर्ने हो,’ केसीले भने, ‘नम्बरवाइज लामो दुरीका गाडीको आधिकारिक रूटको बाटो यो होइन । ती गाडीहरू मेन हाइवे हुँदै बुटवल भएर भैरहवा आउनुपर्ने हो ।’ 

गत वर्ष देवदह र भलुहीमा पुल भाँचिँदा धेरै गाडी यही सडक प्रयोग गरेर हिँडेका थिए । बायाँ लेनबाट हिँडेको गाडी रेडिङ भाँचेर पुलबाट खसेकाले चाकल निदाएको र गाडी नियन्त्रणबाहिर गएकाले दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमान गरिएको केसीको बताए । 

दुर्घटनामा मृतक ९ जनामध्ये ८ जनाको सनाखत भएको छ । मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्षका विष्णु पौडेल, तिलोत्तमा नगरपालिका–८ बस्ने ३७ वर्षीया तुलसी बस्याल, बुटवल उपमहानगरपालिका ११ का ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीया दिनेश दास र भारतको जनकपुरग्रामका ४० वर्षका अरविन्द्र शर्मा, भारतका ४५ वर्षका सञ्जय गुप्ता र ३५ वर्षका नागेन्द्र शर्मा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्