१९ असार २०८३, शुक्रबार

न्युजील्यान्डमा बस्ने नेपाली समाजसेवी अधिकारी उच्च विभूषणबाट सम्मानित

न्युजील्यान्डमा बस्ने नेपाली समाजसेवी अधिकारी उच्च विभूषणबाट सम्मानित

न्युजील्यान्डमा बस्ने नेपालीहरूलाई सेवा दिइरहेका उद्धव प्रसाद अधिकारीलाई देशको उच्च विभूषण अर्डर अफ मेरिटबाट सम्मानित गरिएको छ । 

बेलायती महारानी एलिजाबेथको जन्मदिन तथा राज्यारोहणको ७० वर्ष पुगेको अवसरमा अधिकारीलाई अफिसर अफ द न्युजील्यान्ड अर्डर अफ मेरिटको उपाधिले विभूषित गरिएको हो । न्युजील्यान्डले बेलायती महारानीलाई राज्यप्रमुख मान्ने गरेको छ ।

अर्डर अफ न्युजील्यान्ड उक्त देशको सर्वोच्च सम्मान हो भने अर्डर अफ मेरिट त्यसभन्दा ठीक मुनिको उच्च सम्मान हो । नेपाली मूलका व्यक्तिले (सम्भवतः पहिलोपटक) न्युजील्यान्डको उच्च सम्मान प्राप्त गर्दा त्यहाँ र अन्य मुलुकमा बस्ने नेपालीहरूले खुशी व्यक्त गरेका छन् । 

सन् १९९६ मा शाही आदेशमार्फत दिन शुरू गरिएको न्युजील्यान्ड अर्डर अफ मेरिट राष्ट्रका लागि उल्लेख्य सेवा गर्ने तथा समुदायको हितका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्नका लागि दिइन्छ ।

अधिकारीले यो सम्मान पाएकोमा न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नले बधाई ज्ञापन गर्दै उनलाई पत्र समेत पठाएकी छन् ।

उच्च सम्मान पाउँदा आफूलाई खुशी लागेको अधिकारीले लोकान्तरलाई बताए । ‘निःस्वार्थ भावले काम गर्दा त्यसको फल प्राप्त हुँदो रहेछ,’ उनले भने, ‘सामाजिक काममार्फत मानिसहरूको दुःखसुखमा सहभागी हुँदा त्यसलाई सरकारले पनि विचार गर्दो रहेछ ।’

यस्तो उच्च सम्मान पाउने अधिकारी सन् २००५ देखि न्युजील्यान्डमा जस्टिस अफ द पीस रहिआएका छन् । व्यक्तिको अधिकार संरक्षण तथा प्रवर्धन गर्ने र विशेष समुदायका व्यक्तिलाई न्याय दिनका लागि सहयोग गर्ने उच्च चरित्रवान व्यक्तिलाई जस्टिस अफ द पीसको उपाधि दिने गरिन्छ । 

अधिकारीले अकल्यान्ड सहित न्युजील्यान्डका विभिन्न भागमा बस्ने नेपालीहरूको हितका लागि स्वार्थरहित रूपमा स्वयंसेवा गर्दै आएका छन् । नेपालको सरकारी जागिर छोडेर न्युजील्यान्डमा स्थायी बसोबास गर्न शुरू गरेदेखि नै अधिकारी त्यस देशमा बस्ने नेपालीहरूको सेवामा तत्पर रहँदै आएका हुन् । 

उनी सामुदायिक कल्याणका विभिन्न गतिविधिहरूमा दत्तचित्त भएर लागिपरेका छन् । विगत २५ वर्षदेखि उनले कुनै पनि शुल्क नलिइकन स्वयंसेवीको भूमिका तथा क्षमतामा समुदायको हितका लागि अनेकौं काम गरेका छन् । 

आफ्नो निवासबाटै उनले वार्षिक रूपमा औसत २०० जनालाई सेवा दिने गरेका छन् । सन् २०१६ देखि उनले न्यु लीनमा रहेको सरकारी कार्यालय सिटिजन्स एडभाइस ब्युरो अफिसबाट वर्षको औसत १४ सयजना जतिलाई सेवा प्रदान गर्दै आएका छन् । 

समाजसेवा गर्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो भन्ने लोकान्तरको प्रश्नमा अधिकारी बताउँछन्, ‘त्यस्तो प्रेरणा कसैसँग लिएको त हैन, त्यत्तिकै भित्रबाट आयो । आफ्नो समय बचाएर अरूलाई सहायता गर्न थालेको हुँ । त्यसो गर्दै जाँदा सेवाका लागि आफैं ऊर्जा आउने रहेछ ।’

अधिकारी विभिन्न संघसंस्थामा सक्रिय भूमिकाका साथ जोडिएका छन् । न्युजील्यान्डमा बस्ने नेपालीहरूको सबभन्दा पुरानो संस्था न्युजील्यान्ड नेपाल सोसायटी इन्कमा उनी कार्यकारी समिति सदस्य छन् । 

पोहोर साल उनी गैरआवासीय नेपाली संघ न्युजील्यान्डका अध्यक्ष निर्वाचित भएका थिए । उक्त संस्थामा न्युजील्यान्डभरि रहेका ९०० भन्दा बढी नेपालीहरू सदस्य छन् । न्युजील्यान्डमा स्थायी बसोबास गर्ने नेपालीको संख्या ७ हजार छ । 

अधिकारीले न्युजील्यान्डमा नेपाललाई थप चिनाउनका लागि सगरमाथा दिवस अर्थात् एभरेस्ट डेलाई आधिकारिक मान्यता दिलाउन पैरवी गरिरहेका छन् । 

न्युजील्यान्डका पर्वतारोही सर एडमन्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पासँग मिलेर सगरमाथाको सफल आरोहण गरेको दिन (मे २९) लाई एभरेस्ट डेका रूपमा मनाउने गरिन्छ । उक्त दिवसलाई न्युजील्यान्ड सरकारबाट आधिकारिक मान्यता दिलाउनका लागि अधिकारीले गरिरहेको पैरवीलाई हिलारीका छोरा पिटरले सहयोग गरिरहेका छन् ।

तस्वीर स्रोत : Jason Oxenham/New Zealand Herald

यसमा न्युजील्यान्डका सांसदहरू सकारात्मक रहेको अधिकारीको भनाइ छ । ‘संसद् भवनको प्रांगणमा एभरेस्ट डेसम्बन्धी सामग्री राख्न थालेका छौं । एउटा पार्टीका सांसदहरूले यसप्रति सकारात्मकता देखाउनुभएको छ,’ अधिकारीले बताए ।

नेपाली साहित्यलाई न्युजील्यान्डमा फैलाउनका लागि पनि अधिकारीले योगदान गर्दै आएका छन् । अकल्यान्डमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने अधिकारी सन् २०१६ देखि नेपाल लिटरेरी सोसायटी इन्कका सल्लाहकार रहिआएका छन् । नेपालका मूर्धन्य साहित्यकारहरूको सम्झनामा प्रत्येक महिना साहित्यिक गोष्ठीको आयोजना गर्ने गरेको अधिकारी बताउँछन् ।

त्यसबाहेक उनले न्युजील्यान्डको अध्यागमन विभाग र न्याय मन्त्रालयका लागि अनुवाद सेवा समेत उपलब्ध गराउँदै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्