
वैशाख २६ गते राजपत्रमा सातामा दुई दिन बिदा दिनेगरी एउटा सूचना प्रकाशित भयो । शनिबार र आइतबार परीक्षणको रुपमा लागू गरिएको उक्त दुई दिने बिदा अन्ततः एक महिनामै खारेज हुने अवस्था आइपुगेको छ । त्यसअघि वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको बढ्दो घाटा कम गर्न तथा सवारी चापलाई व्यवस्थित गर्ने भन्दै जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार परीक्षणको रुपमा जेठ १ देखि लागू भएको उक्त निर्णय असार १ देखि लागू नहुने भएको छ । अर्थात सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको छ । यससँगै अब साप्ताहिक रुममा शनिबारमात्रै कार्यालय बिदा हुने छ ।
सातामा दुई दिन बिदा अव्यवहारिक भएको भन्दै यसको विरोध सुरु भएको थियो भने कतिपय क्षेत्रले कार्यान्वयन पनि गरेका थिए । विद्यालयहरूले यसको विरोध गर्दै आएका थिए ।
सोमबार निर्णयपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वागत गरेका थिए । उनीहरुमध्ये धेरैले अव्यवहारिक निर्णय खारेज गरेर सरकारले सही गरेको टिप्पणी गरेका छन् । कतिपयले चाहिँ हचुवाको भरमा निर्णय हुँदा एक महिनामै निर्णय उल्ट्याउनु परेको भन्दै सरकारलाई बिना अध्ययन निर्णय नगर्न सचेत गराएका छन् ।
लोकान्तर राउण्ड अपमा थप समाचार
००००
मंगलबारदेखि काठमाडौँको फोहोर व्यवस्थापन सुरु भएको छ । स्थानीयहरुले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका हुन् ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईकाअनुसार आजैबाट फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य थालनी हुनेछ ।
००००
आगामी साउन १ देखि काठमाडौं उपत्यकाको फोहोर जथाभावीरुपमा बञ्चरेडाँडास्थित डम्पिङ साइटमा लैजान बन्द गरिने भएको छ । हाल कुहिने तथा नकुहिने सबैखाले फोहोरलाई जथाभावीरुपमा लगेर व्यवस्थापन गरिँदै आएकोमा साउन १ देखि भने उपत्यकामा निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लगिने भएको हो ।
यद्यपी तत्काललाई भने स्रोतमा नछुट्याइ व्यवस्थापन गरिनेछ । सोमबार प्रभावित क्षेत्रका बासिन्दासँग काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधिबीच भएको वार्ताका क्रममा यस्तो सहमति भएको हो ।
००००
इन्टरनेट सेवा प्रदायक संघले देशका विभिन्न ठाउँहरुमा जुनसुकै बेला पनि इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी गैरकानुनी ढंगले इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा विद्युत लाइन काटेकाले इन्टरनेट सेवा बन्द हुनसक्ने भएको आईएसपीएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, दुबही, लहानर डोटीमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुन सक्नेछ ।
ती स्थानमा ब्याकअप सिस्टमको प्रयोग भइरहेको र त्यसले धान्न छाडेपछि कुनैपनि समयमा सेवा अवरुद्ध हुन सक्ने संघको भनाइ छ ।
००००
लगानी बोर्डले दुई जलविद्युत आयोजनाको करिब २६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले राहुघाट र तामाकोशी पाँचौ बनाउन करिब २५ अर्ब ९२ करोड रुपैयाँको लगानी स्वीकृति गरेको हो । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ५१ औं बैठकले ति दुई जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न उक्त रकमको लगानीलाई स्वीकृति दिएको हो ।
००००
सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो ।
००००
नेपाली सेनाका ३ जना सहायक रथिहरू उपरथिमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सेनाका सहायक रथिहरू दीपक बानियाँ, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई उपरथिमा बढुवा गरेको छ ।
००००
आगामी असार १ गतेदेखि मतदाता नामावली संकलनको कार्य पुनः सञ्चालन हुने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आयोगले असार १ गतेदेखि नामावली संकलनको कार्य संचालन गर्ने निर्णय गरेको हो ।
यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आप्mनो नाम दर्ता गराउन सक्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
बर्दियामा जंगली जनावरबाट सुरक्षाको माग गर्दै भएको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । बर्दियाको मधुवनमा स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीय १ महिलाको मृत्यु भएको हो ।
प्रहरीले भीड नियन्त्रणमा लिन दर्जनौं अश्रुग्यास प्रहार गरेको छ भने स्थानीय घाइते भएका छन् ।
००००
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरणअनुसार ३ हजार २४८ जनाको नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको छ ।
००००
सर्ट अन्डर वेयरमा सुन लुकाएर ल्याउने ७ जनालाई प्रहरीले पक्राउ गरेका छ । कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ गते दिउँसो दुबईबाट नेपाल वायु सेवा निगमको जहाजबाट काठमाडौं आएका ५ जनालाई ८८६ ग्राम सुनसहित पक्राउ गरेको हो ।
००००
नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यस वर्ष ५ जुनमा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।
००००
प्रतिनिधि सभाको सोमवारको बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा मन्त्री कोइरालाले पीडितलाई क्षतिपूर्तिभन्दा माथि उठेर विधेयकका परिपूरणको प्रबन्ध गरिएको जानकारी दिए ।
००००
प्रधामन्त्री शेरबहादुर देउवाले नमानेपछि नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीको शपथ रोकिएको छ ।
आइतवार बसेको पार्टी सचिवालय बैठकले ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको थियो ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतवार नै प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएका थिए । मन्त्री बन्नेहरूले बधाइ लिइसकेको र बिदाइ हुनेहरूले पार्टीको निर्णय मान्ने बताएका थिए । प्रधानमन्त्री देउवाले भने भर्खरै बजेट आएको सन्दर्भमा मन्त्री फेर्नु उचित नहुने धारणा राखेको स्रोतले बतायो । यससँगै नयाँ मन्त्रीको शपथ तत्काल नहुने देखिएको छ ।
००००
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउन प्रधानमन्त्रीले २ मन्त्रालय छाड्न आग्रह गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार छाड्ने तयारी शुरू गरेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले यसबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।
००००
आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एशिया क्षेत्रको छनोटका लागि मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले सोमवार भुटानविरुद्ध जीत निकालेको छ ।
किनरारा ओभल मैदानमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दैै जारी छनोट प्रतियोगितामा दोस्रो जीत निकालेको हो ।