२३ जेठ २०८३, शनिबार

मनसुन शुरू भएसँगै भक्तपुरमा प्रतिकार्य योजना लागू

मनसुन शुरू भएसँगै भक्तपुरमा प्रतिकार्य योजना लागू
प्रतिकात्मक तस्वीर

मनसुन शुरू भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्लाका ४ नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले  प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको होे ।

वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका ४ वटै स्थानीय तह (भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका) मा विपद्को जोखिम रहेका ठाउँहरू पहिचान गर्ने र विपद् परेमा आश्रय लिने ठाउँ खोजी गरी तयारी अवस्थामा राख्ने सीडीओ शर्माले जानकारी दिए ।

उनले भने, ‘४ वटै नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपद्सँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिको छलफलबाट विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ ।’

सबै नगरपालिका प्रमुखले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद् जोखिम क्षेत्र पहिचान गरेर विपद् रोकथामका कार्य गर्ने, विपद् परेमा आश्रयस्थलको व्यवस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अवस्थामा राख्ने सहमति भएको भन्दै सीडीओ शर्माले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताए ।

उनले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्री बोट, साबेल, डोरी, लाइफ ज्याकेट लगायत अन्य आवश्यक सामग्री तयारी अवस्थामा राख्न समेत निर्देशन दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरूले खोज तथा उद्धारका सामग्री एवं तालिमप्राप्त जनशक्ति सबै तयारी अवस्थामा राखिएको उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना क्षेत्रका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्