२८ जेठ २०८३, बिहीबार

देशैभर वडाध्यक्षमा एमालेभन्दा १ लाख ७५ हजार बढी मत ल्याएर पहिलो पार्टी भएको कांग्रेसको दाबी

देशैभर वडाध्यक्षमा एमालेभन्दा १ लाख ७५ हजार बढी मत ल्याएर पहिलो पार्टी भएको कांग्रेसको दाबी
फाइल फोटो

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देशभर वडाध्यक्षमा नेकपा एमालेभन्दा बढी मत ल्याएर पहिलो दल भएको बताएको छ । 

कांग्रेसले निर्वाचनअघि बनाएको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवारले एमालेभन्दा १ लाख ७५ हजार ७६ मत बढी ल्याएको जनाइएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजकत्वको उपसमितिले बुधवार केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई प्रतिवेदन बुझाएको छ । पौडेल नेतृत्वको उपसमितिले सोही प्रतिवेदन बिहीवार सार्वजनिक गरेको छ । 

‘कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ छ । जुन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मतभन्दा १ लाख ७५ हजार ७६ बढी छ,’ प्रतिवेदनमा उल्लेख छ ।

मतगणना गर्दा विजयी, प्रत्यासी र तेस्रो स्थानसम्म आएका उम्मेदवारको मतलाई आधार बनाइएको पौडेलले बताए । 

स्थानीय निर्वाचनमा ७ वटै प्रदेशमा कांग्रेस पहिलो पार्टी भएको उनले बताए । बागमती र कर्णाली प्रदेशमा एमालेभन्दा दोब्बर संख्यामा कांग्रेस विजयी भएको पनि पौडेलले बताए । 

यसपटक स्थानीय तहमा देशभरमा कांग्रेसले ३२९ अर्थात् ४४ प्रतिशत स्थानीय तहमा जीत हासिल गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । 

गठबन्धनलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिएको, टिकट वितरणलाई व्यवस्थित बनाउन सकिएको र आन्तरिक व्यवस्थापन मजबुत बनाउन सकेको भए कांग्रेसले ४५० भन्दा बढी स्थानीय तहमा जीत निकाल्न सक्ने अवस्था देखिएको पौडेलको दाबी छ । 

अहिले कांग्रेस पहिलो पार्टी भए पनि मतमा भने उल्लेख्य सुधार भएको मान्न नसकिने पौडेलले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्