२८ जेठ २०८३, बिहीबार

गलकोटमा गाउँघर क्लिनिक सञ्चालनमा

गलकोटमा गाउँघर क्लिनिक सञ्चालनमा
प्रतिकात्मक तस्वीर

सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन बागलुङको गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

क्लिनिकको बुधवार वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे ।

मल्म स्वास्थ्यचौकी अन्तर्गत सञ्चालित क्लिनिकबाट परिवार नियोजन, सुरक्षित मातृत्व, पोषण अनुगमन लगायत प्राथमिक उपचार र परामर्श सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज अनिता कार्कीले जानकारी दिइन् ।

क्लिनिकबाट हरेक महिनाको २५ गते स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान हुने उनको भनाइ छ । प्राथमिक उपचार सेवा भने नियमित सञ्चालन हुने जनाइएको छ । क्लिनिकलाई व्यवस्थित र प्रभावकारीरूपमा सञ्चालन गर्नका लागि ७ सदस्यीय क्लिनिक सहयोग समितिसमेत गठन गरिएको छ । 

समितिको अध्यक्षमा मीना दर्जी र संरक्षकमा वडाध्यक्ष राजबहादुर थापा रहेका छन् । वडाध्यक्षमा थापा निर्वाचित भएपछि बसेको स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहिलो बैठकले गाउँघर क्लिनिक खोल्ने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवाको सहज पहुँचबाट बञ्चित झिर्का, टोकरी र छिमेकी वडा पाण्डवखानी, सिद्धथानका वासिन्दालाई समेत लक्ष्य गरी क्लिनिक सञ्चालनमा ल्याइएको हो । सेवा शुभारम्भ गर्दै वडाध्यक्ष थापाले क्लिनिकलाई छिट्टै सामुदायिक स्वास्थ्य एकाइमा स्तरवृद्धि गर्न पहल गरिने बताए ।

‘स्वास्थ्यचौकी पायकमा नपर्दा टाढाको भूगोलका जनतालाई स्वास्थ्य सेवा पाउनै कठिन छ,’ उनले भने, ‘सामुदायिक स्वास्थ्य इकाई बनेमा स्वास्थ्यचौकी सरहकै सेवा दिन सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्