
मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोलीले बाघलाई शुक्रवार नियन्त्रणमा लिएको हो ।
बाघले शुक्रवार बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका–१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । भाले बाघको उमेर भने खुलेको छैन । यस अघि नियन्त्रणमा लिइएका २ वटा बाघ कसरास्थित खोरमा राखिएको छ ।
चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।