२२ जेठ २०८३, शुक्रबार

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड साँझ ७ बजेबाट बन्द

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड साँझ ७ बजेबाट बन्द
फाइल फोटो

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड शुक्रवार साँझ ७ बजेदेखि बन्द गरिने भएको छ ।

आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भाँसिएपछि अवरुद्ध भएको सडकखण्ड मर्मतका लागि साँझ ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो । 

बिहान सडक भाँसिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भाँसिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीका अनुसार डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको छ । रातिको समयमा जोखिम सडक भाँसिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको शुक्रवारै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए ।

सडक भाँसिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १ जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उनले बताए ।

अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्