![हाइटेन्सन लाइनमा डरै नमानी तारैतार मान्छे हिँडेपछि... [भिडियो]](https://lktcdn2.prixacdn.net/media/kakani_manxe_tara_4hyBO7l8lV.png)
नुवाकोटको ककनी गाउँपालिकामा एक व्यक्ति विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढेपछि ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ ।
शनिवार बिहान करीब १० बजेतिर नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय माइला विक ककनीको चतुराले भन्ने ठाउँबाट विद्युतको पोलमा चढेका थिए ।
विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने काम गरिरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले लोकान्तरसँग बताए ।
‘बिहानैदेखि एक व्यक्ति विद्युतको पोल हुँदै तारमा चढेपछि विद्युत आयोजना नै बन्द गर्न लगाइएको छ । प्रहरीले उनलाई ओराल्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म ओराल्न सकिएको छैन,’ तामाङले भने ।
ती व्यक्तिको मानसिक स्वास्थ असन्तुलित रहेको खुलेको तामाङले बताए । ‘प्रहरीले उनलाई फकाएर ओराल्ने प्रयास गरिरहेका छन् । तर, उनी मानिरहेका छैनन् । उनलाई ओराल्न पोलमै चढ्दा हामफाल्न सक्ने र ज्यान नै जोखिममा पर्न सक्ने भएकाले प्रहरी पोलमा चढेका छैनन्,’ तामाङले भने ।
विद्युतको तार हल्लाइरहेका उनलाई स्थानीय बासिन्दा र प्रहरीले बियर खुवाउने, पैसा दिने भनेर फकाउने प्रयास गरिरहेको भए पनि उनी प्रसारण लाइनको तारबाट ओर्लिन नमानेको तामाङले बताए ।
स्थानीय हरिकुमार गुरुवाचार्यका अनुसार ती व्यक्ति पहिल्यैदेखि यस्तो उत्पात् मच्चाउने काम गर्ने गरेका थिए । कहिले कुखुरा चोर्ने, कहिले अन्य काम गरेर स्थानीयलाई हैरान बनाउने गरेको उनी बताउँछन् ।
ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।
प्रसारण लाइनमा चढेका व्यक्तिलाई करेन्ट लाग्न सक्ने डरले त्रिशुली थ्री–ए आयोजना नै बन्द गरेर बस्नुपर्दा काठमाडौंमा विद्युत आपूर्तिमा समस्या हुन थालेको विद्युत प्राधिकरणले बताएको छ ।
हेर्नुहोस् भिडियोः