११ साउन २०८३, सोमबार

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

करीब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ ।

नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।

सिलवालको शव करीब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । 

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीवार मात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए । प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताए ।  उनको शव कासकाइसस्थित अस्पतलाको शवगृहमा राखिएको छ ।

सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीको भनाइ छ । बेपत्ता भएका सिलवालको खोजीकार्यका लागि संघले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेकोे थियो ।

सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्