
ऊर्जामन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सेनालाई ती व्यक्तिको उद्धार गरिदिन आग्रह गरेको जानकारी दिएकी हुन् ।
‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’
बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका छैनन् ।
‘अझै तारमा यताउता गरिरहेका छन्, झर्न मानिरहेका छैनन्,’ नुवाकोटका प्रहरी प्रवक्ता रुपक खड्काले भने, ‘आधा पोलसम्म झरिसकेको पनि फेरि उक्लिए ।’
उनका अनुसार स्थानीय परिचालन गरेर मासु खाना दिने भनेर फकाउन खोजे पनि झर्न मानेका छैनन् ।
अहिले ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।