
आर्थिक अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ) दोलखाका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्धिनारायण महर्जनलाई मुख्यालय तानिएको छ ।
सशस्त्र प्रहरी स्रोतका अनुसार डीएसपी महर्जनलाई जिल्ला प्रमुखको रुपमा रहँदा धेरै सशस्त्र प्रहरी बलका कर्मचारीलाई बिदा दिएर रासनमा अनियमितता गरेको आरोप लागेको छ ।
उनले जिल्लामा रहेका सशस्त्र प्रहरीका जनशक्तिको ६० प्रतिशतलाई एकैपटक बिदा दिएर रासनबाट आएको पैसा अनियमितता गरेको आरोप लागेको हो ।
‘रासनमा अनियमितता गरेको आरोप लागेको थियो तर त्यो बेलामा राजनीतिक शक्तिको आडमा उनी जिल्ला बस्दै आएका थिए,’ स्रोतले लोकान्तरलाई भन्यो ।
फेरि अहिले स्थानीय तहको निर्वाचनमा सवारीसाधन भाडामा लिँदासमेत अनियमितता गरेको भन्दै उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा तानिएको हो ।
नयाँ सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आइसकेपछि उनलाई मुख्यालय तानेर उनको ठाउँमा डीएसपी सुरज कार्कीलाई पठाइएको छ ।
निर्वाचनमा आवश्यक पर्नेभन्दा कम सवारीसाधन भाडा लिएर नक्कली नम्बरका गाडी खडा गरी पैसा भुक्तानी लिएको उनीमाथि आरोप छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले संगठन आचरणविरुद्धको कार्य गरेको भन्दै प्रधान कार्यालय तानिएको पुष्टि गरे ।
‘संगठन आचरणविरुद्धको काम भएकाले उहाँलाई बोलाइएको हो,’ डीआईजी खड्काले लोकान्तरसँग भने, ‘उहाँको दुई वर्ष पनि भएको थियो ।’
उनलाई के कस्तो आचरणविरुद्धको कार्य भएको भन्ने विषयमा छानबिन भइरहेको र अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने डीआईजी खड्काले बताए ।
‘अहिले उहाँमाथि अनुसन्धान भइरहेको छ, सत्यतथ्य पछि आउला,’ उनले भने ।
यसअघि पनि रासनमा अनियमितता गरेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई सचेत गराएको थियो । अनियमितता गरेको भन्दै उनीविरुद्ध दर्जनौँ उजुरी छन् ।
महर्जनलाई नयाँ भर्ना भएर आएका सशस्त्र प्रहरी कर्मचारीलाई तालिमको बेला यातना दिएको आरोप पनि लाग्दै आएको छ ।