०६ साउन २०८३, बुधबार

बायोग्याँसबाट चल्ने गाडी प्रवर्धन गर्न जापान र भारतबीच नयाँ संयन्त्र बन्ने

असार १८, २०८३
काठमाडौं
बायोग्याँसबाट चल्ने गाडी प्रवर्धन गर्न जापान र भारतबीच नयाँ संयन्त्र बन्ने

वातावरणमैत्री ऊर्जाको स्रोतका रूपमा हेरिएको बायोग्याँस (जैविक ग्याँस) बाट चल्ने सवारीसाधन प्रवर्धनका लागि जापान र भारत सरकारले एउटा साझा संयन्त्र स्थापना गर्ने भएका छन् ।

यस संयन्त्रअन्तर्गत भारतमा गाईको गोबर कुहाएर कम्प्रेस्ड नेचुरल ग्याँस गाडीका लागि आवश्यक पर्ने मिथेन ग्याँस उत्पादन गर्ने प्लान्टहरूको संख्या एक हजार पुर्‍याउने दुवै पक्षको लक्ष्य छ । भारतको कार बजारमा सबैभन्दा ठुलो हिस्सा ओगटेको जापानी अटो कम्पनी 'सुजुकी मोटर' ले यस संयन्त्रमा मुख्य प्राविधिक सहकार्य गर्नेछ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइची बुधबारदेखि शुरू हुने आफ्नो तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुग्दा दुवै देशबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रधानमन्त्री ताकाइचीले बिहीबार नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय शिखर वार्ता गर्ने छन् । शुरूमा यो शिखर सम्मेलन भारतको उत्तर-पूर्वी राज्य असमको प्रमुख सहर गुवाहाटीमा हुने तय भएको थियो ।

त्यस्तै, दुवै सरकारले बुधबार नै शिखर वार्ता गर्ने योजना बनाएका थिए, तर भारतीय पक्षको अनुरोधमा वार्ता एक दिन पछि (बिहीबार) का लागि सारिएको र भेटघाटको स्थान समेत परिवर्तन गरिएको जापान टाइम्सले जनाएको छ । 

भारतीय बजारमा सुजुकीले जापानी सरकारको 'ग्लोबल साउथ' अनुदान सहयोग अन्तर्गत बायोग्याँस उत्पादन शुरू गरिसकेको छ। कम्पनीले भारतमा गुड्ने सीएनजी गाडीहरूलाई थप प्रवर्धन गर्ने लक्ष्य राखेको छ, जसको हिस्सा अहिले भारतको नयाँ गाडी बिक्रीमा २० प्रतिशतभन्दा बढी छ।

करिब १ अर्ब ४० करोड जनसङ्ख्या भएको भारत चीन र अमेरिकापछि विश्वकै तेस्रो ठुलो ऊर्जा खपत गर्ने देश हो । तर, कच्चा तेलका लागि भारत ठुलो मात्रामा आयातमा निर्भर रहनुपर्ने बाध्यता छ । त्यसैले भारतीय सरकारले सुजुकीको यस नवीनतम प्रयासलाई इन्धनको परनिर्भरता घटाउने बलियो विकल्पका रूपमा हेरेको छ ।

गत वर्ष अक्टोबरमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री ताकाइचीको यो पहिलो भारत भ्रमण हो, जसलाई दुई देशका नेताहरूबीच हुने परम्परागत 'शटल डिप्लोमेसी' (द्विपक्षीय भ्रमणको शृङ्खला) को रूपमा हेरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्