२२ असार २०८३, सोमबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार कांग्रेसको एकलौटी नभएकाले अनावश्यक माग नराख्न आग्रह गरेका छन् । ट्रेड युनियन कांग्रेसको महाधिवेशनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै देउवाले मजदुरका सबै माग पूरा गर्ने हैसियतमा सरकार नरहेको बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन, नबुझिकन धेरै क्लेम गर्न भएन,’ देउवाले भने । देउवाले बजेटमा निजी र अनौपचारिक क्षेत्रका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने कुरा भएको बताए ।
००००
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । 

उनले यही जेठ ३० गतेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको जानकारी गराए ।
००००
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताएका छन् । चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आइतबार शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताएका हुन् । उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । फ्लि आइतबार स्वदेश फर्किएका छन् ।
००००
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए।
००००
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको  हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
००००
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले विभिन्न नक्कली फाइल बनाएर डेढ करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ ।
सहकारीकै केही कर्मचारीको मिलेमतोमा नक्कली फाइल तयार गर्न लगाई आफू निकट व्यक्तिहरूलाई ऋण दिएको खुलेको हो । नवजीवनको नक्कली फाइल प्रकरण भित्रभित्रै भूसको आगो झैं फैलिएपछि सो फाइल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
००००
अर्थमन्त्री जनार्दन शर्माले तरलताको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । उनले नीतिगत सुधार गर्दै लगिने भन्दै पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर पनि तरलतालाई कम गर्दै लगिने बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजी परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताएका हुन् ।
००००
‘मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर सुनारले मनको बिरह पोखे ।

४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए । अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन् ।

साँझ हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेपछि प्रहरीले उनलाई त्यहाँ ल्याएर संस्थाको संरक्षणमा छाडेको हो ।

आइतवार दिउँसो भेट्न पुग्दा हिमबहादुरले मर्न सजिलो रहेन छ भन्ने निष्कर्ष सुनाए– भाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन । अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ ।
पारिवारिक तनावले बिजुलीको पोलमा चढेको उनको भनाइ छ ।
००००
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश १ सरकारले पेश गरेको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

आइतवार बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।
०००
यसैगरी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ढंग र्पुयाएर काम गर्दा सानो दल पनि मुख्यमन्त्री बन्ने बताएका छन् । प्रदेश सभा बैठकमा आइतवार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 
नेकपा एमाले एक्लैसँग ६८ सिट हुँदा पनि सरकारबाट बाहिरिनु परेको भन्दै मुख्यमन्त्री राईले एमालेप्रति व्यंग्य प्रहार गरे । 
‘ढंग नपुग्दा ठूलो दल पनि सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने, ‘ढंग र्पुयाएर काम र्गयो भने म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउँदो रहेछ ।’
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्ताव नखोल्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 
विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्यालयले १३ वैशाखमा खोलेको प्रस्तावविरुद्ध अदालतले अन्तरिम आदेश दिएको हो ।
००००
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ  । आगामी पाँच आर्थिक वर्ष (२०७९–०८० देखि ०८३–०८४) मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर पाँच वर्षे रणनीतिक योजना तयार गरिएको हो ।
००००
नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।  नेपाल सुशासन पार्टीका अध्यक्ष खरेल काठमाडौं १ बाट चुनाव लड्ने पक्का भएको सो पार्टीले जनाएको छ ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको विषयमा सरकारको जवाफ मागेको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तापक्षका प्रमुख सचेतकले विषय उठाएको बारे प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्