
राउण्ड टेबल नेपालले आगामी असार ४ गते विशेष कार्निभल गर्ने भएको छ ।
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ कार्निभल आयोजना गर्न लागिएको कम्पनीले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदश्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्प सहित आफ्नै जग्गा खरिद गर्ने सम्मका योजनाहरु रहेका छन् । जसको पहिलो पाईलाको रुपमा यो फण्ड रेजर ईभेन्ट आयोजना गर्न लागिएको हो ।
आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधी समेत हुने र प्रायोजकले ब्याबसायिक कार्यक्रम जस्तै लाभ हाँसिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको छ ।
दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने, विभिन्न नेपाली ब्राण्डका वियर, वियर ककटेल, मकटेल लगायतका पेय रहनेछन् ।
बालबालिकाहरुका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाईभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् ।
‘जुन वियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर रु. १०००/– तोकिएको छ जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराईनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरु समेत प्रदान गर्नेछन् ।
यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको कम्पनीले जनाएको छ ।
दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागी हुन पाउँदा आफु हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।
राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शिर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
खासगरी सामुदायीक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु र ४ण् भन्दा बढी ट्वाईलेट ब्लकको निर्माण गरिसकेको छ ।
हालै बाग्मती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा २ वटा कक्षाकोठा तथा कम्प्यूटर ल्याबको निर्माण गरि हालै विद्यालय ब्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । जसको उद्धाटन राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले गरेका थिए ।