नेकपा एमालेका सांसद झपट रावलले प्रतिपक्षका सांसदले जनताको माग लिएर मन्त्रालयमा राखेका लेटरप्याड च्यातिएको भन्दै मन्त्रीहरूको हात र मुख च्यात्ने चेतावनी दिएका छन् ।
रासायनिक मलको बारेमा छलफल गर्न एमाले प्रमुख सचेतक विशाल भट्टराईले राखेको स्थगन प्रस्तावमाथिको छलफलमा रावलले मन्त्रीहरूलाई चेतावनी दिएका हुन् ।
‘यो सरकार जनता र किसानको पक्षमा केही काम गर्दैन, कहाँबाट कमिसन आउँछ भन्ने बाहेक केही देख्दैन । यो गठबन्धनका मान्छे यस्ता छन् मैले भर्खर सुनेँ– प्रतिपक्षका सांसदले जनताको माग लिएर मन्त्रालयमा जाँदा प्रतिपक्षको हो भनेर च्यातेका छन्,’ रावलले भने, ‘मैले अर्को दिन भण्डाफोर गर्ने वाचा गर्छु । अराजक मन्त्रीलाई जनताको तर्फबाट चुनौती दिन्छु– जनताले हात मुख च्यात्नु नपरोस् ।’
सांसद रावलले देशमा मलको हाहाकार भइरहँदा कृषि मन्त्री विदेश सयर गरेको भन्दै खेद व्यक्त गरे ।