१२ साउन २०८३, मंगलबार
निर्वाचन क्षेत्रको खोजी

रूपन्देहीबाट संसदीय चुनाव लड्ने तयारीमा प्रभावशाली नेता, को-को हुँदैछन् आमनेसामने ?

जेठ ३०, २०७९
रूपन्देहीबाट संसदीय चुनाव लड्ने तयारीमा प्रभावशाली नेता, को-को हुँदैछन् आमनेसामने ?

सधैँ राजनीतिक शक्तिको केन्द्रमा रहने रूपन्देहीका राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको मैझारो सकेर आउँदो संघीय र प्रदेश सभा निर्वाचनतर्फ केन्द्रित हुन थालेका छन् । 

स्थानीय निर्वाचनबाट हौसिएको नेपाली कांग्रेस र रक्षात्मक अवस्थामा पुगेको नेकपा एमाले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफू अनुकूल बनाउनेतर्फ आन्तरिक गृहकार्यमा जुटेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी कात्तिक-मंसिर वा फागुनमा निर्वाचन हुने बताइसकेसँगै नेताहरू को कहाँबाट उम्मेदवार बन्लान् भन्ने चर्चा समेत हुन थालेको छ । ११ लाख जनसंख्या रहेको रूपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् ।

रूपन्देही प्रभावशाली नेताहरूको गृहजिल्ला पनि हो । गत २०७४ सालको निर्वाचनमा एमालेले ३ र कांग्रेसले २ निर्वाचन क्षेत्र सुरक्षित गरेको थियो । प्रदेश सभातर्फ एमालेले ५, कांग्रेसले ३, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ क्षेत्र जितेका थिए । 

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जिल्ला समन्वय समिति (जिसस) निर्वाचनलगत्तै आगामी निर्वाचनमा पार्टी होमिने बताए । ‘स्थानीय निर्वाचनले हामीलाई केही पाठ सिकाएको छ । त्यसको सबै ‘रिकभर’ प्रतिनिधिसभा र प्रदेश सभाले दिने गरी पार्टी लाग्नेछ,’ अध्यक्ष केसीले भने ।

गत चुनावमा रूपन्देहीको १ नम्बर क्षेत्रमा एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले कांग्रेस नेता अब्दुल रज्जाकलाई पराजित गरेका थिए भने २०७० सालमा तिनै विश्वकर्मालाई रज्जाकले हराएका थिए । यस क्षेत्रमा दुवै जनाको दोहोरिए प्रतिस्पर्धा हुँदै आएको छ ।

स्थानीय तह निर्वाचन अगाडिसम्म गृहमन्त्री बालकृष्ण खाँण ३ नम्बर क्षेत्र छाडेर १ नम्बरमा आउने गरी सक्रिय थिए तर हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको ३ नम्बर क्षेत्रका सबै पालिका कांग्रेसले जितेपछि उनी आफ्नै पुरानो क्षेत्रबाट चुनाव लड्ने सोचमा पुगेका कांग्रेस नेताहरू बताउँछन् । त्यसैले आउँदो निर्वाचनमा पनि रूपन्देहीको १ नम्बर क्षेत्रमा एमालेबाट विश्वकर्मा र कांग्रेसबाट रज्जाक उम्मेदवार बन्ने चर्चा छ । 

एमाले देवदह नगरपालिकाका इन्चार्ज यम रानाले रुपन्देहीमा एमालेका लागि सबैभन्दा सुरक्षित क्षेत्र १ नम्बर रहेको बताए । 

स्थानीय तहको मत परिणामलाई हेर्दा १ नम्बर क्षेत्रमा एमालेले बढी जितेको छ तर माओवादीसँग गठबन्धन हुने भएपछि यसपटक रज्जाकको आत्मविश्वास थप बढेको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जीत हासिल गरेको थियो ।

कांग्रेस रुपन्देहीका सहसचिव बासुदेव रिमालले प्रतिनिधि सभाको १ नम्बर क्षेत्रमा पुरानै उम्मेदवार अब्दुल रज्जाकलाई नै अगाडि सार्ने सम्भावना बढी रहेको बताए । 

रूपन्देहीका लागि दुवै परिचित अनुहार हुन् । रूपन्देहीमा दुवैले सक्षम नेताको परिचय बनाएका छन् । विश्वकर्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् भने रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवा निकट छन् । प्रदेश सभातर्फ वाम गठबन्धनबाट तत्कालीन माओवादीका दधिराम न्यौपाने र एमालेका कृष्ण न्यौपानेले जितेका थिए । यस क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमा–७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिका–१, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् ।

सधैं चर्चामा रहने बुटवल आउँदो निर्वाचनमा पनि फेरि चर्चामा छ । रुपन्देहीको २ नम्बर क्षेत्रमा पर्ने बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । २०५४ सालपछि कुनै पनि निर्वाचनमा जीत निकाल्न नसकेको कांग्रेसले यसपटक गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा एमालेको ‘गढ’ भत्काएको छ । 

बुटवलबाट एमाले उपाध्यक्ष पौडेल उम्मेदवार बन्ने निश्चित जस्तै छ भने कांग्रेसबाट गुल्मीका नेता चन्द्र भण्डारीले चुनाव लड्ने चर्चा छ । पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् । पौडेलले २०६४ सालमा माओवादीका भक्ति पाण्डे, २०७० सालमा डा.बाबुराम भट्टराई र २०७४ सालमा गिरीलाई हराएका थिए । २०७४ सालमा पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीको मत २१ हजार ९४६ थियो ।

यसपटक भने पौडेललाई केही चुनौती छ तर एमाले रुपन्देहीका अध्यक्ष केसीले स्थानीय तहको मत परिणामले पौडेलको जीतलाई ‘ब्रेक’ लगाउन नसक्ने दाबी गरे । कांग्रेसबाट यसअघिका उम्मेदवार युवराज गिरी र भण्डारी आकांक्षी रहेका बताइन्छ । बुटवलमा स्वतन्त्र उम्मेदवारको पनि चर्चा छ ।

स्वतन्त्रबाट डा. निकोलश भुसाल पनि उम्मेदवार बन्ने चर्चा छ । उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका ‘गुरु’ रहेको बताइएको छ ।

कांग्रेसका एक नेताले भने, ‘अहिलेको अवस्थामा १ नम्बर क्षेत्रमा अब्दुल रज्जाकले कसैलाई छाड्दैनन् । ३ नम्बर क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको लागि सबैभन्दा सुरक्षित देखियो । ५ नम्बर क्षेत्र भरत शाहले पनि कसैलाई छाड्नेवाला छैनन् । त्यसैले २ नम्बर क्षेत्रमा तालमेल हुँदा अन्य पार्टीलाई जाने सम्भावना पनि छ ।’ ती नेताले चन्द्र भण्डारी पनि अहिलेको अवस्थामा बुटवल आउने सम्भावना कम देख्छन् ।

पौडेलले बुटवलबाट ३ पटक निर्वाचन जितेपछि जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकासको लहर ल्याएर लोकप्रिय नेताको छवि बनाएका छन् । पौडेलले अर्थमन्त्री हुँदा रूपन्देहीमा ठूला–ठूला विकासका आयोजनाहरू समेत ल्याएका छन् ।

उनको क्षेत्रमा बुटवल उपमहानगपालिकाका १–१३ नम्बरसम्मका वडा, सैनामैना नगरपालिकाका १–४ नम्बर वडाहरू र तिलोत्तमाका १–६ नम्बर वडा पर्छन् । ती सबै वडादेखि नगरको मेयरमा गठबन्धनले जितेको छ ।

रूपन्देहीको ३ नम्बर क्षेत्र चर्चाको केन्द्रमा सधैं हुन्छ । गत निर्वाचनमा पराजित हुने डरले समानुपातिकमा बसेका गृहमन्त्री बालकृष्ण खाँण यसपटक प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्यसहित पटक–पटक जिल्ला धाइरहेका छन् ।

२०६४ र २०७० सालको निर्वाचनमा जितेका खाँण २०७४ सालमा समानुपातिमा बसेका थिए । कांग्रेसले राप्रपासँग तालमेल गरी राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । २०७० सालमा खाँणले भुसाललाई ८२ मतले हराएका थिए ।

आफ्नो क्षेत्र कमजोर देखेर १ नम्बर क्षेत्रतर्फ केन्द्रित हुन खोजेका खाँण स्थानीय चुनावको मत परिणामले हौसिएका छन् । ३ नम्बर क्षेत्रमा पर्ने सबै पालिका तिलोत्तमा, सिद्धार्थनगर, शुद्धोधन, सियारी र लुम्बिनी सांस्कृतिक नगरपालिका कांग्रेसले जितेको छ । त्यसैले आफ्नै पुरानै क्षेत्रबाट गृहमन्त्री खाँणले चुनाव लड्ने कांग्रेस रुपन्देहीका नेता बताउँछन् । कांग्रेसबाट खाँण, एमालेबाट स्थायी कमिटी सदस्य भुसाल र तिलोत्तमाका निवर्तमान मेयर बाशुदेव घिमिरेको प्रतिनिधि सभामा चर्चा छ । गत चुनावमा प्रदेशतर्फ एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए ।

बोहरा १ र ३ नम्बर क्षेत्रमध्ये एउटा क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । त्यसका लागि राप्रपाले एमालेसँग तालमेल गर्न सक्ने राप्रपाका नेताहरू बताउँछन् । ३ नम्बर क्षेत्रमा बुटवलका वडा नम्बर १४–१९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन् ।
 
गत निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि रूपन्देहीमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रलाई ५ नम्बर क्षेत्र मात्र परेको थियो । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य डिलाराम आचार्य र कांग्रेस उम्मेदवार भरतकुमार शाहबीच प्रतिस्पर्धा भएको थियो । चुनावमा कांग्रेसका शाहले जिते । शाह ३३ हजार ८८ मतका साथ विजयी हुँदा आचार्यले २० हजार ८२९ मत मात्र ल्याएका थिए । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत रहेका शाह ३ पटक निर्वाचित भएका छन् । 

आगामी निर्वाचनमा शाह यहीँ क्षेत्रबाट चुनाव लड्ने बताइन्छ । एमालेबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले उम्मेदवार बन्ने चर्चा छ ।

दुवै जना मतदातालाई आफ्नो पक्षमा पार्न आक्रामक रूपमा अगाडि बढिरहेका छन् । एमाले ५ नम्बर क्षेत्रका सहइन्चार्ज नरबहादुर घर्तीले भट्टराई ५ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने गरी जुटेका बताए ।

२०५६ सालमा शाह विजयी भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्व. नेता रामनाथ ढकालले पराजित गरे भने २०७० सालको निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गर्न सफल भए । हालै सम्पन्न स्थानीय तह निर्वाचन अनुसार ५ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले बराबर जस्तै जीत निकालेका छन् । प्रदेश सभातर्फ एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फकरुद्धिन खाँनले जीत निकालेका थिए । 

यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका १–११ नम्बर वडासम्म मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छ ।
 
रूपन्देहीको ४ नम्बर क्षेत्र मधेशी बाहुल क्षेत्र हो । यहाँ तराई केन्द्रित दलदेखि कांग्रेस र एमाले पनि उत्तिकै शक्तिका साथ आफ्नो प्रभाव बढाउँदैछन् । गत निर्वाचनमा कांग्रेसका प्रमोद यादव निर्वाचित भएका थिए । यादवले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार सर्वेन्द्रनाथ शुक्लालाई पराजित गर्दै जीत निकालेका थिए । एमालेका ओमप्रकाश यादव तेस्रो भएका थिए । अहिले पनि यादव र शुक्ला नै उम्मेदवार बन्ने चर्चा छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रुपन्देहीका अध्यक्ष अजय बर्माले शुक्ला ४ नम्बर क्षेत्रबाट नै निर्वाचन लड्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्