
मोरङको बेलबारीमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलवारी राति तीन जना सवार स्कुटर ट्रकमा ठोकिँदा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–४ बेतना सिमसारमा राति ११ बजे दुर्घटना भएको थियो।
पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को२०प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको हो ।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार स्कुटरको पछाडि बसेका पाँचथर मिक्लाजुङ –३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएका छन् ।
उनीहरूको नोबेल अस्पतालमा उपार भइरहेको प्रहरीले जनाएको छ ।