
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
सातै प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९–८० का लागि बजेट घोषणा गरेका छन् । सबै प्रदेशका गरी कुल ३ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ हाराहारीको बजेट आएको छ । त्यसमध्ये सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले सार्वजनिक गरेको छ। बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको देखिएको छ । कर्णाली प्रदेशले कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
यसैगरी प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट संसद्मा प्रस्तुत गरेको छ । मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याउँदा गण्डकी प्रदेशले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । सम्बन्धित प्रदेशका अर्थमन्त्रीले प्रदेशसभामा बजेट पेश गरेका हुन् । बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकासलगायतलाई प्राथमिकता दिइएको छ ।
००००
एसपीपीबारे नेपाली सेनाले दुई बुँदे धारणा सार्वजनिक गरेको छ । सेनाले नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नहुने बताएको छ । विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सेनाले विज्ञप्तिमार्फत यस्तो बताएको हो ।
अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको सेनाले स्पष्ट गरेको छ ।
सेनाले भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ ।’
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि कुराका हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार बिहान गठबन्धन दलका शीर्ष नेताहरूसँगको भेटमा देउवाले राष्ट्र अहितका कुनै पनि कुरामा हस्ताक्षर नगर्ने बताएको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले जानकारी दिएका हुन् ।
बुधवार पार्टी बैठकमा नेपालले देउवासँगको भेटबारे जानकारी गराएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूसँगको भेटमा देउवाले राष्ट्र अहितका कुनै पनि कुरामा हस्ताक्षर नगर्ने बताएको उनले जानकारी गराए ।
००००
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् ।
उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गरे । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि बताए ।
००००
अमेरिकी स्टेट पार्टनसीप प्रोग्राम (एसपीपी)को ९ कम्युनिष्ट पार्टीहरूले विरोध गरेका छन् । मंगलवार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले एसपीपीको विरोध गरेका हुन् ।
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, कञ्चन नेतृत्वको नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा, नेकपा माओवादी समाजवादी, नेकपा मसाल केसस र जनसमाजवादी मञ्च नेपालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
००००
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर आजदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको छ । ती तहको निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले कार्यारम्भ गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
००००
प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीबारका लागि समय निर्धारण गरिएको छ ।
००००
गृहमन्त्री बालकृष्ण खाणले नेपालको भूमि कुनैपनि विदेशी राष्ट्रको विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा विनियोजित विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफका क्रममा मन्त्री खाणले नेपाली भूमि कुनै देशको विरुद्ध प्रयोग हुन नदिने बताएका हुन् ।
‘नेपालको भूमिमा कुनैपनि विदेशी राष्ट्रको विरुद्ध हुने गतिविधि हुन दिँदैनौँ, यो सरकारको निरन्तरताको अभ्यास र दृढता हो,’ मन्त्री खाणले भने । नेपाल भ्रमण गरेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले ललितपुरको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्पको भ्रमण गरेपछि चीनले आपत्ति जनाएको थियो । तिब्बती क्याम्पमा अमेरिकी विदेशमन्त्रीलाई भ्रमण गर्न दिएको भन्द्रै सरकारको आलोचना हुँदै आएको छ ।
००००
टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९–०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । राजस्व परामर्श समितिको आज आयोजना गरेको आव २०७९–०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीले संसदबाट बजेट पारित भएलगत्तै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । बुधवार काठमाडौंमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गरेको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासामु हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राखेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी लगायतका माग राखेको छ ।
राप्रपाले राजनीतिक, समसामयिक र जनजीविकाका विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको राप्रपाले जनाएको छ ।
००००
नेपालका वामपन्थी घटकहरूको एकताका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पाँच बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कम्युनिष्ट एकता अपरिहार्य रहेको बताएका छन् ।
युवा वाम बहसले आयोजना गरेको कार्यक्रममा भुसालले स्थानीय तह निर्वाचनको परिणामले पनि नेपालका कम्युनिष्टहरू नै बहुमतमा रहेको प्रमाणित गरिदिएको र संसदीय चुनावमा वामपन्थीहरू मिलेर जानुपर्ने प्रस्ताव गरेका हुन् ।
००००
शेयर बजार पछिल्लो ९ महिनामा १२३३ अंकले घटेको छ । गत भदौ पहिलो साता करीब ३२ सय बिन्दुमा पुगेको नेप्से परिसूचक बुधवार १९६६.३७ बिन्दुमा झरेको हो ।
००००
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कालोसूचीमा परेको ईआरएमसी कम्पनीको संसदमा बचाउ गरेकी छन् । कालोसूचीमा परेको कम्पनीलाई शहरी विकास मन्त्रालयको ठेक्का दिइएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्त्री झाँक्रीले खरिद कानूनअनुसार नै ठेक्का पाएको बताएकी हुन् ।
००००
महिला र बालिका कुटपिट गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न लुम्बिनी सरकारले कार्यदल बनाएको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाइएको हो । बुधवार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।