०९ असार २०८३, मंगलबार

नेपालमा महिलाका लागि पहिलोपटक जलयात्रा तालिम शुरू

नेपालमा महिलाका लागि पहिलोपटक जलयात्रा तालिम शुरू

नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम शुरू  गरेको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम शुरू  गरेको हो ।

महिलाका लागि पहिलोपटक शुरू  हुन लागेको रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ । 

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरूका लागिमात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए ।

उनले यो तालिमलाई तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न आग्रह गर्दै बोर्डले आगामी दिनमा नारासँगको सहकार्यमा थप तालिम प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

युएनडिपीका पोर्टपोलियो म्यानेजर कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेको भन्दै उनीहरूको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरू  गरिएको बताए । उक्त तालिमले महिला शक्तिकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने उनको भनाइ थियो ।

नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक महिलालाई निःशुल्क रिभर गाईड उपलब्ध गराएर महिलालाई समेत रोजगारी ग्यारेन्टी भएको भन्दै खुसी व्यक्त गरे । उहाँले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाई आग्रहसमेत गरे ।

कार्यक्रममा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाको सहभागिता न्यून रहेकाले युवाको आकर्षण बढाउन र महिलालाइ आत्मनिर्भर बनाउने महत्वपूर्ण उद्देश्य बोकेर तालिमको आयोजना गरिएको बताए ।

असार १५ गतेसम्म चल्ने तालिममा ५३ महिलाको सहभागिता रहने नाराका उपाध्यक्ष शिशिर खनालले जानकारी दिए । युएनडीपीले नेपालको कोरोनाबाट थलिएको पर्यटन प्रवद्र्धनलाई थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले अल्पकालीन रोजगार तथा तालिमका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

उक्त कार्यक्रमबाट देशभर छ हजारभन्दा बढी व्यक्तिलाई अल्पकालीन रोजगारी प्रदान गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक एवं परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्