
जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारवाहीको माग गर्दै उजुरी परेको छ ।
कांग्रेस भित्रबाटै अन्तरघात भएका कारण हार ब्यहोर्नु परेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदमा उमेदवारी दिएका बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् ।
सात स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।
गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पुर्याएको कांग्रेसका उमेदवार शाही एक मतले पराजित भएका हुन् । प्रमुखबाहेक गठबन्धनका अन्य सबै उमेदवारले जितेका छन् ।
यता पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो । चुनावमा एमालेका प्रमुख पदका उमेदवारले सात मत ल्याएर विजयी भएका थिए भने पराजित शाहीको ६ मत थियो ।
चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो । अर्को एक मतमा अन्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उमेदवारलाई भोट दिएपनि प्रमुख र उपप्रमुखमा सूर्य चिन्हमा दिइएको थियो ।
अनुशासन समितिका जिल्ला संयोजक एवं पार्टी जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दाबी गरिएको छ ।
नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उमेदवारलाई भोट दिन लगाएकोले उनीहरुमाथि छानविनसहित कारवाही गर्न माग गरिएको हो ।
जिल्लामा रहेका कांग्रेसका दुई गुटका कारण हरेक पटक विवाद हुँदै आएको छ ।
एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एंव संविधान सभा सदस्य विक्रम खनालको छ ।
स्थानीय निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नु परेको जिल्लामा चर्चा छ ।
पछिल्लो पटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको हो ।
जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उमेदवार बनाउन चाहेका थिए । तर खनाल गुटका उमेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो ।
गुटकै कारण हार व्यहोर्नु परेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्वय कँडेल र कलवारप्रति आक्रोशित छन् ।
