
रणवीर कपूर र आलिया भट्टको नयाँ फिल्म ब्रह्मास्त्रको ट्रेलर सार्वजनिक भएलगत्तै फिल्मलाई बहिष्कार गर्न माग उठेको छ ।
ट्विटरमा ह्याशट्याग बोयकट ब्रह्मास्त्र र बोयकट बलिउड टप ट्रेन्डिङमा छन् ।
ट्रेलरमा देखिएको एक दृश्यमा रणवीर कपूरले जुत्ता लगाएरै मन्दिरको घन्टी बजाएकोमा आपत्ति जनाउँदै हिन्दूवादी संगठनहरूले ब्रह्मास्त्र बहिष्कारको अभियान चलाएका हुन् । बलिउडलाई उनीहरूले गिल्ला गर्दै ऊर्दूवूड भन्ने गरेका छन् र त्यहाँ मुसलमानहरूले वर्चस्व रहेका कारण हिन्दू धर्मको अपमान गर्ने दृश्य राखिने गरेको आरोप लगाएका छन् ।
त्यसबाहेक सुशान्त सिंह राजपूतको आत्महत्यापछि सुशान्तका प्रशंसकहरूले ठूला ब्यानरका तथा सेलेब्रिटीका छोराछोरीले खेल्ने हरेक फिल्मलाई बहिष्कार गर्नुपर्ने भनी ट्रेन्ड चलाउने गरेका छन् ।
ब्रह्मास्त्रकी नायिका आलियाले करण जोहरसँगको कफीगफमा जिस्केको सुरमा सुशान्तको हत्या गर्न मन लागेको भनेकोलाई लिएर सुशान्तका प्रशंसकहरूले आपत्ति जनाउँदै आलियाको फिल्म बहिष्कारको माग राख्ने गरेका छन् ।
त्यसमाथि रणवीर र आलिया दुवै नेपोकिड अर्थात् बलिउड हस्तीका सन्तान भएकाले सुशान्तका प्रशंसकहरूको आक्रमणको निशाना बनेका हुन् ।
कतिपय आलोचकहरूले ब्रह्मास्त्र फिल्मका पात्रहरू मार्भल सिनेम्याटिक युनिभर्सका सस्ता कपी भएको भन्दै यस्तो नक्कली फिल्म किन हेर्ने भन्दै बहिष्कारका स्वर चर्काएका हुन् ।