
पोस्टर, टिजर हुँदै ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्र ‘चिसो मान्छे’ शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।
‘पशुपति प्रसाद’, ‘आमा’जस्ता मनछुने चलचित्रका कथाकार एवं निर्देशक दीपेन्द्र के खनालले ‘चिसो मान्छे’को लेखन तथा निर्देशन गरेका हुन् ।
विदेशमा मृत्यु भएर नेपाल आएको शव गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्राको कथा चलचित्रले पेश गर्ने ट्रेलरबाट आकलन सकिन्छ । सुदूरपश्चिमको कथा, लवज र रहनसहन चलचित्रको सशक्त पक्ष मानिएको छ ।
निर्देशक खनाल पोस्टर, टिजर र ट्रेलरले जस्तै चलचित्रले पनि दर्शकको मन जित्ने र सोही अनुसारको चलचित्र बनेको दाबी गर्छन् ।
‘ट्रेलरमा जति देखाएको छु, चलचित्रमा त्योभन्दा धेरै कुराहरू छ र धेरै फरक कुराहरू छ,’ खनालले भने, ‘टे«लरभन्दा चलचित्र राम्रो हुनैपर्छ र राम्रो बनेको छ ।’
ट्रेलरमा आएकोभन्दा धेरै कुराहरू चलचित्रभित्र दर्शकले हेर्न पाउने उनले बताए । उनका अनुसार चलचित्रले आफ्नो माटोको सुगन्ध बोल्छ ।
‘बिल्कुलै नयाँ स्वाद, आफ्नो माटोको सुगन्ध बोल्ने चलचित्र बनाएका छौं,’ उनले भने, ‘दर्शकहरू आफ्नो टाइपको चलचित्र बने त हामी हेथ्र्यौं भन्नुहुन्छ नि ! त्यसको लागि चाहिँ ‘चिसो मान्छे’ हेर्नुपर्छ ।’
सामान्य बुझाइमा मृत शरीरलाई ‘चिसो मान्छे’ भनेर बुझ्न सकिन्छ । निर्देशक खनाल चलचित्रमा ‘चिसो मान्छे’का बहुआयामहरू प्रस्तुत गरेको बताउँछन् ।
‘चिसो मान्छे, चिसो सम्बन्ध, चिसो समाज इत्यादि । चिसो मान्छे जीवित पनि हुनसक्छ, मृतक पनि हुनसक्छ,’ उनी भन्छन् ।

उनले हरेक चलचित्रमा फरक काम गर्ने प्रयास गर्दै आएका छन् । त्यसमाथि उत्तिकै इमान्दार भएर चलचित्र बनाउने प्रयास गर्दै आएको बताउने उनले ‘चिसो मान्छे’लाई लिएर आफूमा पूरा आत्मविश्वास रहेको बताउँछन् ।
‘चलचित्र हेरेका दर्शकले आफ्नो चलचित्र पाउनुहुन्छ । हाम्रो चलचित्र पाउनुहुन्छ,’ उनी भन्छन्, ‘हलमा बसेर निस्कँदा राम्रो चलचित्र हेरें, मिठो चलचित्र हेरें भन्ने पार्ने चलचित्र ल्याएको छु । दर्शकको माया रहन्छ भन्नेमा आत्मविश्वास छु ।’
उनी निर्देशनको हिसाबले ‘चिसो मान्छे’सम्म आइपुग्दा आफूमा अझ ‘ग्रोथ’ भएको अनुभव गरेको बताउँछन् । दीपेन्द्रकै कथा एवं छायांकन रहेको चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।
चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् । जसको लवज, अभिनयले दर्शकको मन जितिसकेको छ । उनीहरूका अलावा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।