
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।
बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अमेरिकी सेना नआउने बताए ।
उनले नेपाल सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक आवतजावत गर्ने प्रक्रिया रहेकाले विना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सीमित रहेको दाबी गरे । उनले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने पनि बताए ।
उनले भने, ‘एमसीसी परियोजना अब कार्यान्वयनमा गइसकेको छ । जुन उद्देश्यका साथ एमसीसी परियोजना लागू भएको छ, नेपालमा संसदबाट करीब–करीब सहमतिमा एमसीसी परियोजना लागू भएको हो । यसबाट नेपाली जनताले पाउने प्रतिफल देखिँदै जानेछ । एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाटनेपाली समाजलाई लाभान्वित गर्नका लागि हामी सबैले साझा प्रयत्न गरौं । हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो र एकदेशबाट अर्को देशको नागरिक आवतजावत गर्ने प्रक्रियाहरू छन् । ती प्रक्रिया विना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो । यसमा कुनै सत्यता छैन ।’
मन्त्री कार्कीले एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नका लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताए ।