२३ जेठ २०८३, शनिबार

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् ।

सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा बिहीवार वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् ।

विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौं चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो समारोहमा सम्बोधनका क्रममा उनले जंगली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेश क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताइन् ।

तराई–मधेशका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उनको भनाइ छ । चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको संकलन र उत्खनन गर्न उनले आह्वान गरिन् ।

तराई र मधेशका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररुपमा बाँच्न दिनुपर्ने उनको भनाइ थियो । प्रकृति स्वच्छ भए मात्र मानव जीवन स्वच्छ हुने भन्दै उनले भनिन्, ‘हामीले प्रकृतिलाई संरक्षण गर्‍र्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ भन्ने तथ्यलाई कसैले पनि बिर्सन हुँदैन ।’ 

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा जनसंख्या वृद्धि, बसाइँसराइँ, भौतिक पूर्वाधार विकासका क्रममा शहरीकरण दिन प्रतिदिन बढ्दो छ, यस प्रक्रियाले चुरे क्षेत्रको पारिस्थितीकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितीकीय प्रणालीलाई पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्ने बेला आएको बताइन् ।

वृक्षरोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण एवं पानीको स्रोत वृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्