
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन आग्रह गरेका छन् । गत वैशाख ४ गतेको मन्त्रिपरिषद वैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि बनाउने निर्णय गरिएको बताउँदै मन्त्री श्रेष्ठले जीवनको उर्भर समय बिदेशमा खर्ची बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रीत परिवार सुरक्षा योजनाबाट सहयोग प्राप्त हुने बताए ।
बैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी आजिवन काम गर्न नसक्ने गरी अंगभंग भई आजिवन सामाजिक सुरक्षाको आवश्यकता रहेकाहरुलाई पनि कोषले सञ्चालन गरेको अशक्तता सुरक्षा योजनावाट सहायता उपलब्ध हुने मन्त्री श्रेष्ठको भनाइ छ । ठुलो संख्यामा नेपालीहरु बिभिन्न मुलुकमा श्रम गरिरहेको उल्लेख गर्दै उनले जोखिमयुक्त काम गर्न बाध्य श्रमिकको सम्मानित श्रमका लागि सामाजिक सुरक्षा अपरिहार्य रहेको बताए ।
आगामी आर्थिक बर्षको बजेटमा पनि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषय उल्लेख गरिएको मन्त्री श्रेष्ठले बताए ।
गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ ।