
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । गएको २४ घण्टाका मुख्य घटनाक्रमसहित लोकान्तरको नियमित प्रस्तुती लिएर आएका छौँ–
नेपाली सेनाले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे दुई पटक पत्र पठाएको स्वीकार गरेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएसँगै सेनाले यसबारे स्वीकार गरेको हो । सेनाले बुधबार विज्ञप्ति जारी गरेर नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नसक्ने बताएको थियो ।
विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सेनाले विज्ञप्तिमार्फत यस्तो बताएको थियो ।
सेनाले अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको दाबी गरेको थियो ।
तर, त्यसको भोलिपल्टै बिहीबार क्षेत्री ले अमेरिकालाई पत्र पठाएको खुलासा भएको थियो । त्यसपछि सैनिक प्रवक्ता नारायण सिलवालले एसपीपीमा सहभागी हुन सन् २०१५ मा पत्राचार गरेको स्वीकार गरेका हुन् । सन् २०१७ पनि २०१५ मा जस्तै पत्र पठाइएको उनको भनाइ छ ।
तर त्यतिबेला कुनै सम्झौता वा सैन्य गठबन्धनका लागि नभई पूर्णतः विपद व्यवस्थापनको क्षेत्रमा सहयोगका लागि पत्राचार गरिएको उनको दाबी छ । उनले सेना कुनै पनि सैन्य गठबन्धनको पक्षमा नरहेको उनले जिकिर गरे ।
००००
के छ तीन बुँदे पत्रमा ?
१. नेपाल सरकारले आधिकारिकता दिएबमोजिम निकट भविष्यमा नेपालका लागि नेसनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राम स्थापना गर्न हामीले औपचारिक रूपमा अनुरोध गरेका छौं ।
२. यस कार्यक्रममार्फत सैन्य सीप तथा अनुभव आदानप्रदान गर्न, पार्टनरशिप क्षमता प्रवर्धन गर्न र थप पारस्परिक सुरक्षा सहकार्य गर्नका लागि दीर्घकालीन तथा दिगो र पारस्परिक हितकारी सुरक्षा सम्बन्धको प्रवर्धन गर्ने दृढ विश्वास लिइएको छ । विपत तयारी तथा संकट व्यवस्थापन, उड्डयन बन्दोबस्ती, मर्मतसम्भार तथा सुरक्षा आदानप्रदान, महत्त्वपूर्ण संरचना तथा प्राकृतिक स्रोत संरक्षण, व्यावसायिकीकरण तथा सैन्य अधिकृत विकास लगायतका पारस्परिक चासोका क्षेत्रमा यस कार्यक्रमले सहयोग गर्न सक्ने कुरालाई उच्च कोटिको मूल्यांकन गरिएको छ ।
३. नेपाली सेना काठमाडौंस्थित अमेरिकी राजदूतावासलाई यस कार्यक्रममा जोडिने विषयमा पुनः एकपटक प्रतिबद्धता दोर्होयाउँछ ।
००००
सेनाले अमेरिकालाई पत्र पठाएपछि हंगामा भएको छ । यहीबीचमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । सेनाले एसपीपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि समितिले शर्मालाई बोलाएकाचे हो । शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।
बैठकमा परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाइएको छ। सेनाले अमेरिकालाई पत्र पठाउँदा केपी ओली प्रधानमन्त्री रहेका थिए ।
००००
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आफू रक्षामन्त्री हुँदा अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको बताएका छन् । बिहीवार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व रक्षामन्त्री समेत रहेका सांसद प्रधानले सन् २०१७ मा आफू रक्षामन्त्री रहेको र आफ्नो कार्यकालमा अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको स्पष्ट पारे ।
००००
बजेटको मूल विधेयक मानिने विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकले बजेटको मूल विधेयकको रूपमा लिइने विनियोजन विधेयक बहुमतबाट पारित गरेको हो ।
बिहीवार अपराह्न अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । विनियोजन विधेयकलाई सभामुखले निर्णयार्थ पेश गर्ने समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसदमा उपस्थित भएका थिए । आफूले सम्हालेका मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिन नआएको भन्दै संसदमा देउवाको तीव्र आलोचना भएको थियो ।
००००
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए । तर, एमालेले अर्थमन्त्रीबाट राष्ट्रघात भएको जिकिर गर्दै निरन्तर विरोध गर्दै आएको छ ।
००००
नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन आग्रह गरेका छन् । गत वैशाख ४ गतेको मन्त्रिपरिषद वैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि बनाउने निर्णय गरिएको बताउँदै मन्त्री श्रेष्ठले जीवनको उर्भर समय बिदेशमा खर्ची बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रीत परिवार सुरक्षा योजनाबाट सहयोग प्राप्त हुने बताए ।
००००
कालीगण्डकी नदीमा बिहीबार डुंगा पल्टिन पुगेको छ । नदी अन्तरगतको पाल्पाको रानीमहल क्षेत्रर्मा याफ्टिङका क्रममा डुंगा पल्टिएको हो । तर, समयमै उद्दार हुँदा नदीमा खसेका सबै ८ जना सकुशल रहेको पाल्पाका सहायक प्रमुख अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । रानीमहल घुम्न गएका पर्यटकहरु सवार ढुंगा दुर्घटनामा परेको हो ।
००००
नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २ हजार २६८ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अंकले वृद्धि भई १ हजार ९७८.९४ मा पुगेको छ ।
००००
पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीवार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
आईओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनमा प्रतिलिटर ९१ रुपैयाँ ९१ पैसा बढेको छ ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।
००००
स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष र व्यावसायिक तुल्याउन महासङ्घले चालेको शुद्धीकरणको अभियानअन्तर्गत सक्रिय राजनीतिमा लागेका पत्रकारलाई महासङ्घबाट बिदाइ गरिएको हो ।
००००
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध हेरोइनसहित ७ विदेशीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर निगरानी राखी ७ दिन लामो छापामार कारवाही गर्दा ५१ किलोग्राम हेरोइनसहित ७ विदेशीलाई पक्राउ गरिएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको नाममा महासंग्राम पार गरेको बताएका छन् । पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गर्दा पनि एमालेका राम्रो उम्मेदवारले जितेको उनको भनाइ थियो ।
नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक अभ्यासका नाममा तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध चुनाव लडिएको बताए ।
‘हाम्रा लागि चुनाव जीवनमरणको महासंग्राम थियो, हाम्रो अस्तित्व समाप्त गर्न कोसिस गरिएको थियो । यति गर्दा पनि आजको दिनमा प्रमुख पार्टी हौं,’ ओलीले भने, ‘स्थानीय तह चुनाव महासंग्राममा पैसाको दुरुपयोग मात्र भएन, अधिनायकवादविरुद्ध लड्यौं, लोकतन्त्रको नाम जप्ने तानाशाही, दमनकारी शासन सामना गरेर चुनाव जित्नु चानचुने कुरा होइन ।’
००००
चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।