
चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो ।
दीपेन्द्र के. खनाल लिखित एवं निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् ।
शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको समेत अभिनय छ ।
पोस्टर, टिजर र ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्रले विदेशमा मृत्यु भएर बाकसमा नेपाल आएको शवलाई गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्म तय गरिएको यात्राको कथा चलचित्रले पेश गर्छ ।
सुदूरपश्चिमको कथा, लवज र रहनसहनलाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट आँकलन गर्न सकिन्छ ।
यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका निर्देशक खनालको नयाँ चलचित्र ‘चिसो मान्छे’लाई पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
उसो त दीपेन्द्रका प्रायः चलचित्रले राम्रो समीक्षा पाउँदै आएका छन् । उनका चलचित्र ओपनिङ व्यापार भने औसत हुँदै आएको छ ।
उनका चलचित्र ‘वर्ड अफ माउथ’ले नै चल्दै आएका छन् ।
यस चलचित्रले पनि ओपनिङ बम्पर नगरेपनि ‘वर्ड अफ माउथ’का कारण विस्तारै राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।
डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।