
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमाललाई यतिबेला नगरवासीका समस्याहरू सुन्ने र समाधानको पहल गर्ने कामको चटारोले भ्याईनभ्याई छ ।
उपमहानगरपालिकाको आगामी वर्षको बजेट, कार्यक्रम, योजनाको तयारी गर्नुपर्ने कामको चटारोका बीच वर्षायाममा देखिन सक्ने डुबानको जोखिमको समाधानको प्रयासस्वरुप खोलानालामा भएको अतिक्रमण हटाउने अभियान थालिएसँगै यतिबेला उनलाई भ्याईनभ्याई भएको हो । अतिक्रमित क्षेत्रमै पुगेर उनले अतिक्रमण हटाउने अभियानको नेतृत्व गरिरहेका छन् ।
'खोलानालामा भएको अतिक्रमण हटाउने एजेन्डा यसपालिको जनादेशको म्यान्डेड हो, यसलाई अभियानकै रुपमा लिएका छौँ,' प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका प्रमुख हमालले भने, 'प्राकृतिक खोलानालालाई प्राकृतिक रुपमा बग्न दिने व्यवस्था गर्दैछौँ, यो काममा आगामी वर्षदेखि बजेटको व्यवस्थासमेत गर्दैछौँ ।'
उपमहानगरपालिका क्षेत्रमा वर्षायाममा डुबानको विकराल समस्या देखिने गरेकाले यसको समाधानका लागि खोलानाला मिचेर बनाइएका संरचना हटाउने अभियान थालिएको हो ।
उपमहानगरपालिका कार्यालयले फोहर जम्मा भएर पुरिएका मुख्य सडक दायाँबायाँका पक्की नालीको सरसफाइ गर्ने काम पनि थालेको छ । नालीमा थुप्रिने फोहरले पानी र ढल निकास बन्द भई वर्षायाममा मुख्य सडक नै जलमग्न हुने समस्या छ ।
उपमहानगर क्षेत्रमा खोलानाला मिचेर बनाइएका संरचना हटाउन उपमहानगरपालिका कार्यालयले विगतमा पटक पटक निर्णय गरेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
कुनै योजना विना शहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रुपमा रहेका छन् ।
उपमहानगर क्षेत्रको उत्तरबाट दक्षिण हुँदै बग्ने कैलाली खोला, सुकुटी नाला लगायतका क्षेत्रको जग्गा मिचेर संरचना बनाउँदा यी खोलाको प्राकृतिक मार्ग बन्द भई वर्षायाममा डुबानको समस्या हुने गरेको छ । खासगरी उपमहानगरको वडा नं १, २, ३, ४, ५, ७ र ८ मा डुबानको मुख्य समस्या छ ।
मोहना नदीको कटानबाट वडा नं २ र ३ मा पर्ने नदी छेउको बस्ती बढी प्रभावित हुने गरेको छ । उपमहानगरका भएर पनि कतिपय वडा र बस्तीमा स्तरीय सडक, खानेपानी लगायतका पूर्वाधार निर्माण हुन नसक्दा स्थानीयवासीले अझै पनि आधारभूत सेवासुविधा पाएको अनुभव गर्न पाएका छैनन् ।