
मंकीपक्सको आशंका गरिएका बिरामीमा कुष्ठरोग पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रवार प्रेस वक्तव्य जारी गर्दै मंकीपक्सको आशंका गरिएका २६ वर्षीय पुरुषमा कुष्ठरोग पुष्टि भएको जनाएको हो ।
बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले ती व्यक्तिलाई विशेष परामर्शका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाएका थिए । ती व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीले विभिन्न ६ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमूनामा कुष्ठरोगका जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको छ । एक हजार भन्दा बढी संक्रमित छन् । नेपालमा भने हालसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले वक्तव्य जारी गर्दै जनाएको छ ।
