
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल सकारात्मक सोच राखेर अगाडि बढेको पार्टी भएकाले चाँडै जनतामाझ स्थापित हुने बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोहीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिजो कांग्रेस र कम्युनिस्टले जस्तै राजालाई गाली गरेर राप्रपा नेपाललाई स्थापति गर्ने नभई आफ्नो विचारको बलमा राप्रपा नेपाललाई स्थापित गर्न सक्ने ठोकुवा गरे ।
आफूहरू फरक दृष्टिकोण बोकेर जनताको माझ गएको दाबी गरेका थापाले आफूहरूलाई बलियो बनाउन कसैलाई गाली गर्नुपर्ने आवश्यकता नभएको बताए । अहिले देशको विकृति र विसंगतिको कारण राजा नभएको जिकिर गर्दै थापाले यसमा दल र दलका नेताहरूको पनि उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो ।
सम्बोधनकै क्रममा अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताबारे व्यापक चर्चा भइरहेको समयमा नेपाल सरकारले अमेरिकी सरकारलाई औपचारिक रूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रस्ट्याउनुपर्ने बताए ।
करको दरको हेरफेरको संवेदनशील काममा अर्थमन्त्री जनार्दन शर्माले ठूलो आर्थिक चलखेल र असंवैधिक अपराध गरेको उनले आरोप लगाउँदै उनले भने, ‘मलाई आश्चर्य लागेको छ, आजका दिनसम्म न त अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभएको छ, न त प्रधानमन्त्रीले उहाँलाई पदबाट हटाउनुभएको छ, न त नेकपा माओवादीले उहाँलाई मन्त्रीबाट फिर्ता नै बोलाएको छ ।’
कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीर सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
अध्यक्ष कमल थापाले शेर्पालाई १ लाख रुपैयाँसहित ‘चन्द्र स्मृति विशिष्ठ प्रतिभा पुरस्कार’बाट सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।