
भरतपुर महानगरपालिकाले आगामी ५ वर्षमा गर्ने कार्यबारे ३ तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति र बजेटमा नै समेट्ने गरी कार्यक्रम आयोजना गरिएको हो ।
भरतपुर महानगरपालिकाले शुक्रवार दिनभर गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक छलफलमा पूर्व प्रधानमन्त्री, संघीयमन्त्री, संघीय मन्त्रालयका सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य मन्त्री, मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, विज्ञ तथा स्थानीयको सहभागिता थियो । स्थानीय र विज्ञका सुझाव सहित नेतृत्वमा रहेकाको आश्वासन सो अवसरमा आएका थिए ।
अघिल्लो कार्यकालमा झिनो मतान्तरबाट निर्वाचित भएकी महानगर प्रमुख रेनु दाहालले आफ्नो दोस्रो कार्यकालमा अत्याधिक मतका साथ विजयी भएपछि थपिएको चुनौतीलाई सामना गर्ने उद्देश्यले बजेट पूर्व बृहत् छलफल गरिएको हो । छलफलमा सहभागी हुन काठमाडौंबाट आएका पूर्व प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सचिव, महानिर्देशक र कार्यकारी निर्देशकले आफू मातहतका निकायमार्फत महानगरको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा उनीहरू र स्थानीयस्तरका बुद्धिजीवीले महानगरलाई सुझाव दिएका थिए ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै उपस्थितिमा ती प्रतिबद्धता सार्वजनिक भएका हुन् । भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट असार १० गते ल्याउँदैछ ।
प्रमुख दाहालले ३ तहका सरकार, विज्ञ, स्थानीय सरोकारवालाको सहभागितामा गरिएको कार्यक्रममा प्राप्त भएका सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढ्ने बताइन् । उनले भनिन्, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकास योजनाका लागि छलफल प्रभावकारी भयो ।’
नेपालमा कुनै पनि पालिकाले बजेट पूर्व यो ढंगको कार्यक्रम नगरेको भन्दै उनले थपिन्, ‘हामीले ३ तहका सरकारका कार्यक्रम नजुध्ने गरी योजनाबद्ध विकासका लागि छलफल चलाएका हौं ।’