१५ असार २०८३, सोमबार

यौवन साट्न सक्ने राजर्षि

कात्तिक २०, २०७४
यौवन साट्न सक्ने राजर्षि

वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा राजर्षि ययातिलाई पनि लिइएको छ । विद्वानहरूका अनुसार ऋग्वेद मण्डल नौ, सूक्त १०१ को चारदेखि छसम्मको तीनवटा मन्त्रहरू उनै राजर्षि ययातिद्वारा साक्षात्कार भएका मन्त्र हुन् ।kamal rijal

यद्यपि सोमदेव र सोमरसको विशेषता व्याख्यान भएका यी मन्त्रहरूमा उनको नाम र विशेषता उल्लेख भएको भने पाइँदैन । यसको अर्थ वैदिक ग्रन्थहरू सबै उनीबारे बेखबर छन् भन्ने भने होइन । इतिहास र पुराणादि ग्रन्थहरूमा उनका सम्बन्धमा जे जति उल्लेख भेटिन्छ निस्सन्देह त्यो समुन्नत छ । त्यसैले उनलाई वेद, पुराण सर्वत्र उपस्थिति जनाउन सक्षम राजर्षिको रूपमा लिनु समुचित हुनेछ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार बुद्धि, विवेक तथा दया, माया, मैत्री र करुणाको खानी नै मानिएका राजर्षि ययाति चन्द्रवंशी सम्राट् नहुषका मध्यम पुत्र हुन् । यी नहुष तिनै हुन्, जो एकपटक स्वर्गको समेत राजा बन्न पुगेका थिए । उनका जेष्ठपुत्र यतिले युवावस्थामै संन्यास लिएका थिए । त्यसैले उनको मृत्युपछि यिनै ययातिकै काँधमा पैतृक साम्राज्यको भार आएको थियो । उनी जति ज्ञानी थिए, त्यति नै योगविशारद पनि थिए । उनी प्रजाजनलाई आफ्नै सन्तानसरह ठान्ने मात्र गर्दैनथिए समग्र वैभवले सम्पन्न गराउने कामसमेत गर्दथे ।

दया, माया, मैत्री र परोपकारको खानी नै मानिएका यी राजर्षि आफूले जति नै दुःख पाउनुपरे पनि परवाह गर्दैन थिए तर प्रजाजनले दुःख पाएको भने हेर्न सक्दैनथिए । उनको जीवनको एकमात्र लक्ष्य भनेको परहित र परोपकार नै थियो । एकपटक शिकार खेल्न जाँदा शुक्राचार्यकी छोरी देवयानीलाई एउटा गहिरो कुवामा डुबेर छटपटाइरहेकी अवस्थामा देखे । उनले देवयानीको दुर्दशा सहन सकेनन् र आफैं कुवामा छिरेर तिनको उद्धार गरिदिए तर विधिविडम्बना भनौं वा उनको नियति भइदियो के भने तत्कालै देवयानी तपाईंले मेरो हात समातेर बिटुलो पार्ने काम गर्नुभएको छ, त्यसैले अब तपाईंले नै मेरो साथमा विवाह गर्नुपर्छ भनेर जिद्दी कस्न थालिन् ।

विचरा ययाति धर्मसङ्कटमा परे । उपकार गर्दा आपत्ति आइलाग्यो । प्रतिलोम विवाह अर्थात् ब्रह्मणकन्यासित क्षत्रीय कुमारको विवाहलाई तत्कालीन समाजले अनुमति दिएको थिएन । यसो गर्दा सामाजिक दण्डको भागी त यसै पनि हुनुपर्थ्यो नै त्यस्तै परे दैवदण्डको समेत भागीदार हुनुपर्ने अवस्था थियो । तैपनि उनले ध्यान दिएनन् । भविष्यमा जे जसो होला, टर्दै जाला भन्दै देवयानीको साथमा वैवाहिक सम्बन्ध कायम गरी उनको मनोकामना पूरा गरिदिए । यसै पनि उनी भूत र भविष्यलाई भन्दा वर्तमानलाई जोड दिने गर्थे । कसैको पनि वर्तमान बिग्रनु हुँदैन, वर्तमान सप्रे भविष्य त यसै पनि सप्रिन्छ नै, अन्ततः यसैबाट भूतलाई समेत सपार्न सकिन्छ भन्ने उनको मूलभूत मान्यता थियो । त्यसैले उनले बरू प्रतिलोम विवाहको प्रस्ताव स्वीकार गरेका छन् तैपनि देवयानीको वर्तमानलार्ई बिग्रन दिएका थिएनन् ।

राजर्षि ययातिले देवयानीको प्रस्ताव स्वीकार गरी उनको उद्धार त गरेका थिए तर प्रतिलोम विवाहको नतीजा नभोगी सुख भने पाएका छैनन् । यसैको कारण एकपटक उनको यति बढी मतिभ्रष्ट हुन पुगेको छ कि उनी जस्ताले मात्र नभई कसैले पनि गर्नै नहुने कामसमेत गर्न पुगेका छन् । भएको के थियो भने देवयानीलाई भित्र्याउँदा परिबन्दवश वृषपर्वा राजाकी छोरी शर्मिष्ठा पनि दासी बनेर आएकी थिइन् । राजा ययाति जस्ता वेद वेदान्त विशारदलाई आफ्नै दासीसित शारीरिक सम्पर्क राख्नुहुँदैन भन्ने कुरा थाहा नहुने प्रश्नै थिएन । तैपनि उनले दासी शर्मिष्ठासित शारीरिक सम्पर्क राखेका मात्र छैनन्, विवाहित भार्या देवयानीमा भन्दा एक भाइ बढी पुत्रोत्पादन नै गरेका छन्, जसले गर्दा उनले चाँडै नै बुढ्यौलीको सामना गर्नुपर्नेछ भन्ने शुुक्राचार्यको श्रापको भागीदार हुनुपरेको छ ।

राजा ययाति मात्र होइन उनका छोराहरू पनि उत्तिकै ज्ञानी, गुणी र पराक्रमी देखिएका छन् । उनको दुईवटी रानीमा गरी पाँच भाइ छोरा भएका छन्, जसलाई क्रमशः यदु, तुर्वसु, अनु, द्रुह्यु र पुरु भनिन्छ । यीमध्ये जेठा यदुको कुलमा त पछि गएर भगवानले कृष्णावतार नै लिएका थिए भने माहिला तुर्वसुले पनि इतिहास र पुराणमा राम्रै चर्चा पाएका छन् । ऋग्वेदमै समेत उनको केही चर्चा भेटिन्छ । अन्य भाइका विशेषता पनि आ–आफ्ना स्थानमा उत्तिकै महत्त्वका छन् । योगबलका कारण सबै सिद्धिमा पकड जमाएकाले राजा ययातिका लागि संसारमा असम्भव भन्ने केही पनि देखिएको छैन । उनी एकैसाथ आकाशमा उड्न पनि सक्थे र पानीमा कुद्नसम्म सक्थे तर त्यति भएर पनि उनले जीवनमा कहिले पनि अनावश्यक सिद्धिको तुजुक भने देखाएका छैनन् ।

राजर्षि ययातिको वैज्ञानिक चेत पनि उत्तिकै सुदृढ देखिन्छ । उनी बूढोलाई जवान बनाउन पनि सक्थे र जवानलाई बूढो बनाउन पनि सक्थे । हुन त जवान मानिसलाई बूढो बनाउनु कुनै ठूलो काम होइन । यो त प्राकृतिक नियम नै हो तर जवान मानिसलाई तत्कालै बूढो बनाउन भने प्रकृतिले पनि सक्दैन । यसका लागि उसले छुट्टै अध्याय पूरा गर्नुपर्ने हुन्छ तर ययाति भने तत्कालै जवान मानिसलाई बूढो बनाउन पनि सक्थे र बूढो मानिसलाई जवान बनाउन पनि सक्थे । उनले यस्तो चमत्कार आफ्नै जीवनमा गरेर देखाएका छन् । उनले शुक्राचार्यको श्रापका कारण चाँडै नै बुढ्यौलीले ग्रस्त हुनुपरेपछि छोरा कान्छा पुरुसित जवानी साटेर शुक्राचार्यको शेखी झार्ने काम मात्र गरेका छैनन् संसारका कुनै पनि वैज्ञानिक प्रयोगशालामा असम्भव ठानिएको काम गरेर देखाएका समेत छन् ।Jeevan Darshan

परहित र परोपकारमा जीवन उत्सर्ग गर्न पाउनुलाई नै अहोभाग्य ठान्ने राजर्षि ययाति परम धार्मिक र पुण्यात्मा समेत मानिन्छन् । यसैको कारण उनले सशरीर स्वर्ग जाने अवसरसमेत पाएका छन् । यतिबेला देवताहरूले ईर्ष्यावश उनलाई आफ्नो पुण्य आफैंलार्ई बखान गर्न लगाई स्वर्गबाट च्युत गर्न जुन किसिमको प्रपञ्च रचेका थिए त्यसले उनलाई तत्काल स्वर्गको ढोका बन्द गरेपनि अन्ततः उनको शौर्यगाथालाई भने थप चुल्याउने नै काम गरेको छ ।

यतिबेला उनलाई आफ्नो पुण्यको बखान आफैंले गर्नु भनेको आफैंले आफ्नो पुण्य क्षय गराउनु हो भन्ने कुरा उनलाई राम्रैसित थाहा थियो । तैपनि उनले त्यस्तो अवस्थालाई समेत सहर्ष स्वीकार गरी आफ्नो जीवनको पर्यायवाची नै बन्न पुगेको सत्य र निष्ठामा आँच आउन दिएका छैनन् ।

यस्ता सत्य र निष्ठाका पुजारी ययातिको भौतिक शरीर त हामीले देखेका छैनौं तर उनको कीर्तिपताका भने अहिले पनि फरफराइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्