
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताए ।
शुक्रवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुखित बनाएको गुनासो पनि गरे ।
पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्कासन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो ।
उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नुभएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन र बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नुभयो, पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईंहरू आफैं विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले र ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरूले । यो बडो दुःखद् कुरा थियो ।’
सत्ताको चरम दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केहीपछि परे पनि आगामी दिनमा जीत सुनिश्चित रहेको दाबी ओलीले गरे । पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले दोहोर्याए ।
अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकीर गरेका छन् ।