१५ असार २०८३, सोमबार

दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन सरकार प्रतिबद्ध छ- गृहमन्त्री खाण

दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन सरकार प्रतिबद्ध छ- गृहमन्त्री खाण
फाइल तस्वीर।

गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतवार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागुपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका हुन् । 

लागुपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उनको भनाइ छ । 

‘सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ,’ उनले भने, 

‘आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनमा फसेका युवाहरूलाई सुधार्न अभियान थाल्नुपर्नेछ ।’

उनले अहिले लागुपदार्थबारेको अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्ये ८ प्रतिशतभन्दा बढी लागुपदार्थसँग सम्बन्धित रहेको बताए । 

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले लागुऔषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा लागुऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । 

कार्यक्रमअघि राष्ट्रिय सभा गृहबाट शुरु भएको प्रभातफेरी भद्रकाली, सुन्धारा, न्युरोड, रत्नपार्क बागबजार हुँदै पुनः राष्ट्रिय सभामा टुंगिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्